नेपालगञ्ज : नेपालगञ्जमा चार दिने विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न भएको छ । नेपालगञ्ज उपमहानगरपालिका भवानियापुर र परसपुर आयुर्वेद औषधालयको आयोजनामा चार दिन कार्यक्रम आयोजना गरिएको हो ।
नेपालगन्ज उपमहानगरपालिका आयुर्वेद शाखा प्रमुख डा. सुरेश पुनको अध्यक्षता एवम् नगर प्रमुख प्रशान्त विष्टको प्रमुख आतिथ्यतामा शनिबार चार दिने कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा विभिन्न माध्यमिक विद्यालयका शिक्षक-शिक्षिका गरी १६ जना सहभागी थिए । विद्यालयमा आयुर्वेद तथा योग शिक्षाको महत्व र आवश्यकता प्रसार गर्ने उद्देश्यले कार्यक्रम गरिएको डा. पुनले बताए । यो स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आयुर्वेद विभागको सशर्त कार्यक्रम हो ।


समापन कार्यक्रममा नगर प्रमुख विष्टले आयुर्वेद र योग शिक्षाको महत्व बढ्दै गएको भन्दै पछिल्लो समय आयुर्वेद र योगप्रति मानिसहरुको आकर्षण बढेको बताए । उनले विद्यालय तहमा यसबारे सचेतना बढाउनुपर्नेमा जोड दिए । समापन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, शिक्षा महाशाखा प्रमुख गोर्ख बहादुर थापा लगायतको उपस्थिति थियो । कार्यक्रम सञ्चालन आयुर्वेद चिकित्सक डा. मनोज यादवले गरेका थिए ।
असार ११ गतेदेखि कार्यक्रम सुरु भएको थियो ।