नेपालगन्ज : माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले २०८१ को ७ चैतदेखि सञ्चालन भएको एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको हो । परीक्षाफल प्रकाशित गर्नुअघि आज दिउँसो र साँझ गरी दुई पटक बोर्डको बैठक बसेको थियो ।
बोर्डका अनुसार यसवर्ष ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् ।
कुन प्रदेशमा कति ग्रेडेड ?


- कोशीमा ४७ हजार ८ सय ३५ जना
- मधेशमा ५९ हजार ७ सय ४९ जना
- बागमतीमा १ लाख १९ हजार ५ सय १७ जना
- गण्डकी ४७ हजार ८ सय ४९ जना
- लुम्बिनी ५७ हजार ६ सय ८७ जना
- कर्णाली ४६ हजार ४ सय ५५ जना
- सुदूरपश्चिममा ५९ हजार ८ सय ४ जना
बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार विगतको तुलनामा नतिजामा भने केही सुधार देखिएको छ । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।
नन ग्रेडड विद्यार्थीहरूले २९ साउनदेखि मौका परीक्षा दिन पाउने
एसईई परीक्षामा नन ग्रेड भएका विद्यार्थीहरूका लागि परीक्षा बोर्डले मौका परीक्षाको मिति घोषणा गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नन ग्रेड भएका विद्यार्थीहरूले साउनको २९ गतेदेखि मौका परीक्षा दिन पाउने गरि मिति तोकिएको हो ।
यस वर्षको एसईईको नतिजा सार्वजनिक गर्दै नन ग्रेडड विद्यार्थीहरूले २९ साउनदेखि मौका परीक्षा दिन पाउने परीक्षा बोर्डले जनाएको हो
शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को एसईईको नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक नतिजाअनुसार ६१.८१ प्रतिशत ग्रेडेड भएका छन् । बोर्डद्वारा प्रकाशित नतिजाअनुसार गणित विषयमा १ लाख २८ हजार २१५ विद्यार्थी ननग्रेडेड भएका छन् । यो कुल परीक्षार्थीमध्ये सबैभन्दा ठूलो अनुपात हो ।
त्यस्तै, अंग्रेजीमा ८० हजार ६७२, विज्ञान प्रविधिमा ७९ हजार २७१, नेपाली थ्योरीमा ५४ हजार ७३५, सामाजिक अध्ययनमा ५३ हजार १८६, अर्थशास्त्रमा ४२ हजार १५० र अप्सनल म्याथमा १८ हजार २२२ जना विद्यार्थी अनुत्तीर्ण भएका छन् । बोर्डका अनुसार १२६ जना परीक्षार्थीको परीक्षा भने रद्द भएको छ ।