लुम्बिनीमा पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रलाई पनि उच्च प्राथमिकतामा राख्न आग्रह

सदरलाइन संवाददाता १६ जेष्ठ २०८२, शुक्रबार २१:३९
 

लुम्बिनी :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशमा होटल पर्यटनको सम्भावना अधिक भएकाले निजी क्षेत्रको तर्फबाट पनि यसलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

सिद्धार्थ होटल संघ नेपालको १९औं स्थापना दिवस तथा सत्कार दिवसको शुक्रबार उद्घटन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशका पर्यटकीय स्थलहरूलाई लक्षित गरेर होटल व्यवसायमा लगानी बढाउन जोड दिएका हुन । उनले होटल क्षेत्रको लगानीलाई पर्यटन व्यवसायसँग जोडेर हेर्न पनि आह्वान गरे ।

‘हाम्रा पर्यटकीय क्षेत्रमा भ्रमणको उचित वातावरण बनाउन जरुरी छ । पर्यटकलाई धेरै दिन कसरी बसाल्न सकिन्छ र घुमाउन सकिन्छ भन्नेमा सबैले ध्यान दिन जरुरी छ,’ मुख्यमन्त्री आचार्यले भने, ‘अर्घाखाँचीको नरपानी, प्यूठानको स्वर्गद्वारी, रोल्पाको जलजला जस्ता ठाउँ वरपर राम्रा होटल खोलेर प्याकेजको रूपमा पर्यटकलाई घुमाउन लैजान सकिने हो भने छुट्टै पहिचान बनाउन सकिन्छ । यसमा पनि ध्यान दिन जरुरी छ ।’

पर्यटकहरू बास बस्न नपाएर चाँडै फर्किनु पर्ने बाध्यता रहेको उल्लेख गर्दै उनले यसतर्फ व्यवसायमा संलग्न सबैले सोच्नुपर्ने स्पष्ट पारे ।


‘कतै होटलमा लगानी उठ्न नसक्ने अवस्था छ भने कतै होटल नै नभएर पर्यटकले सास्ती भोग्नुपर्ने अवस्था छ,’ उनले भने, ‘यस्तो असन्तुलन हटाउन पनि आवश्यक छ ।’

सरकारले पर्यटन क्षेत्रको विकास, लगानी र व्यवसाय प्रवद्र्धनका लागि अनुकूल नीति ल्याएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले निजी क्षेत्रलाई उत्साहित भएर अघि बढ्न आह्वान गरे ।

‘हरेक समस्याको समाधान छलफल र सहमतिबाटै हुने हो । त्यसैले कोही पनि कुनै नाममा उद्देलित हुन आवश्यक छैन,’ उनले भने, ‘सरकार व्यवसायीहरूको समस्या समाधान गर्न गम्भीर छ । अहिलेको नीति तथा कार्यक्रम र बजेटले धेरै कुरा सम्बोधन गरिसकेको छ ।’

सरकारले सकारात्मक कामको लागि सहजीकरण र आवश्यक वातावरण निर्माण गर्ने जिम्मेवारी पूरा गर्ने दृढता व्यक्त गर्दै उनले छिट्टै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने जानकारी दिए ।

संघीय सरकारले अघि सारेको नीति तथा कार्यक्रम र प्रस्तुत गरेको बजेटबाट विमानस्थल सञ्चालनको आधार तयार भएको उल्लेख गर्दै उनले भने, ‘गौतमबुद्ध विमानस्थल छिट्टै सञ्चालनमा आउँछ भन्ने विश्वासमा छौं । प्रदेश सरकारले पनि निरन्तर पहल गरिरहेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राउटे समुदायका युवतीमाथि दुर्व्यवहार गर्ने एक युवा दैलेखमा पक्राउ

१६ जेष्ठ २०८२, शुक्रबार २१:३९
नेपालगन्ज : राउटे समुदायका युवतीमाथि दुर्व्यवहार गर्ने एक युवा दैलेखमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा आठविस नगरपालिका दैलेखका तपेन्द्र शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख गणेशबहादुर बरालले जानकारी दिए । केही दिन अगाडी गुडिरहेको ट्रकमा चार जना युवतीलाई राखेर ती युवाले दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका […]

सम्बन्धित