
बर्दिया : बर्दियाको मधुवन नगरपालिकाको ८ नंम्बर वडालाई वालविवाह मुक्त वडा घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाको प्रमुख आतिथ्यतामा वडालाई वालविवाह मुक्त वडा घोषणा गरिएको हो ।
पालिकाको बालविवाह मुक्त अभियान रणनितिक योजना अनुसार वडामा १५ प्रतिशतभन्दा कम बालविवाह भए बालविवाह मुक्त घोषणा हुने प्रावधान रहेको छ ।
वडामा गरिएको सर्वेक्षण अनुसार १४ प्रतिशत बालबिवाहको अवस्था रहनुका साथै बालबिवाह सम्बन्धी रणनीति जारी, बाल संरक्षण नीति लागू, बालबिवाह मुक्त अभियान सञ्चालन निर्देशिका, बाल अधिकार संरक्षण समिति पालिका, वडा र विद्यालय स्तरमा क्रियाशील रहेको लगायतका मापदण्ड पूरा भएकाले वडालाई बाल विवाहमुक्त घोषणा गरिएको हो ।

मधुवन नगरपालिकालाई नै वालविवाह मुक्त बनाउन पालिकाको समन्वयमा प्लान इन्टरनेशनल नेपाल, भेरी वातावरणीय विशिष्टता समुह (वि ग्रुप), बाँके युनेस्को क्लव, राधाकृष्ण थारु जनसेवा केन्द्र लगायतका गैर सरकारी संस्थाहरु विगत ३ वर्षदेखि कृयाशील छन् ।
यसअघि मधुवन नगरपालिकाको वडानं. ४ लाई पनि वालविवाह मुक्त वडा घोषणा गरि सकिएको छ ।


