भारत-पाकिस्तान युद्धः बाँकेका सीमा नाकामा गस्ती र कडाई

सदरलाइन संवाददाता २७ बैशाख २०८२, शनिबार १८:०७
 

नेपालगञ्ज : भारत र पाकिस्तानबीच पहलगाम हमलापछि युद्ध चर्किँदै गएपछि नेपाल-भारत सीमामा दुबै तर्फबाट निकै कडाई गरिएको छ । सम्भावित घुसपैठ हुन सक्ने भन्दै नेपालगञ्जस्थित जमुनाहा नाका र जिल्लाका सबै अन्य साना नाकाहरुमा सुरक्षामा कडाई बढाउँदै नाकाबाट आवागमन गर्ने नेपाली तथा विदेशीहरूका लागि सशस्त्र प्रहरीले अनिवार्य परिचयपत्र लागू गरेको छ ।

सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म जयसपुरका डीएसपी महेश केसीले सीमा नाकामा सुरक्षा सतर्कता बढाउने निर्देशन बमोजिम सुरक्षा कडा पारिएको बताउँदै परिचय खुल्ने कागजात बोकेकालाई मात्रै नेपाल-भारत आउजाउ गर्न दिइएको बताए । नेपाल बाहेकका नागरिकलाई विशेष सोधपुछपछि परिचय खुल्ने कागजात हेरेर मात्र इन्ट्री गर्दै गन्तव्यमा पठाउने गरेको डीएसपी केसीले बताए ।


यसअघि नै भारतीय सशस्त्र बल (एसएसवी) ले रुपैडिहा नाकामा आवागमन गर्ने नेपाली र भारतीय नागरिकहरूको अनिवार्य परिचयपत्र हेर्दै आएको थियो । हाल आएर जमुनाहा भएर नेपाल भारत आउने जानेलाई सशस्त्र प्रहरीले नाकामा परिचयपत्र हेर्न थालेको हो । डीएसपी केसीका अनुसार अहिले नेपाल आउने तथा भारत जाने हरेकको परिचय खुल्ने कागजात हेरेर मात्र आउन दिइएको छ भने आवागमन गर्ने हरेकमाथि कडा निगरानी बढाइएको छ ।

गलत नियतले कसैको पनि नेपाल प्रवेश नहोस् भन्ने उद्देश्यका साथ मुख्य नाकामा परिचयपत्र हेर्न थालिएको जनाउँदै अन्य खुला नाकाहरूमा पनि गस्ती र सुरक्षा बढाइएको केसीले बताए । यसअघि नै परिचय खुल्ने कागजात भएकालाई मात्र भारत प्रवेश गर्न र नेपाल आउन दिँदै आएको भारतीय सुरक्षा निकाय एसएसबीले अहिलेको अवस्थामा नाकामा विशेष तालिम प्राप्त सुरक्षाकर्मी र तालिम प्राप्त कुकुरबाट हरेकको चेकजाँच गराएर मात्र आवागमन गर्न दिएको छ ।

नेपाल-भारत सीमा नाकामा नेपाल भारतका सुरक्षाकर्मीले संयुक्त गस्ती तथा एकल गस्ती समेत सुरु गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ । भारत र पाकिस्तानको द्वन्द चर्किएपछि भारतबाट जमुनाहा नाका भएर स्वदेश फर्किने नेपालीहरूको सङ्ख्या पनि दिनदिनै बढ्दै गएको डीएसपी केसीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एकीकृत समाजबादीको लुम्बिनी प्रदेश अधिवेशन घोराहीमा सुरु

२७ बैशाख २०८२, शनिबार १८:०७
दाङ्ग :  नेकपा एकीकृत समाजवादी वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले अहिलेको सरकारलाई भ्रष्टाचारमा लिप्त गठबन्धनको संज्ञा दिएका छन् । पार्टीको लुम्बिनी प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन । उनले भुटानी शरणार्थी प्रकरण र गिरीबन्धु टी स्टेट ओम्नी समूहसँग जोडिएको व्यापक भ्रष्टाचारका घटना उल्लेख गर्दै यस्तो गठबन्धनबाट जनताको […]