बाँकेमा गहुँ खेती गर्ने क्षेत्रफल घट्दा पनि उत्पादन बढ्यो

सदरलाइन संवाददाता २६ बैशाख २०८२, शुक्रबार १९:३४
 

नेपालगञ्ज :  बाँकेमा गत वर्षभन्दा यसवर्ष गहुँ खेती गर्ने क्षेत्रफल घटेको अवस्थामा पनि गहुँको उत्पादनमा भने वृद्धि भएको पाईएको छ ।

कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी तथा वरिष्ठ कृषि प्रसार अधिकृत अनिश श्रेष्ठका अनुसार गत वर्ष जिल्लाका विभिन्न स्थानमा २१ हजार ५ सय १५ हेक्टर क्षेत्रफल जग्गामा गहुँ खेती गरिएको भए पनि यसवर्ष भने २० हजार ८ सय ९५ हेक्टर जमिनमा मात्र गहुँ खेती गरिदा उत्पादन भने बढेको पाईएको हो ।

‘गत वर्षभन्दा यसवर्ष गहुँ खेती गर्ने क्षेत्रफल घटेको छ, गतवर्ष २१ हजार ५ सय १५ हेक्टर क्षेत्रफल जग्गामा किसानले गहुँ खेती गरेका थिए भने यसवर्ष २० हजार ८ सय ९५ हेक्टर क्षेत्रफल जमिनमा मात्र गहुँ खेती भएको छ, यसवर्ष गत वर्षभन्दा ६२० हेक्टर कम क्षेत्रफल जग्गामा गहुँ खेती भएको छ, तर क्षेत्रफल घटे पनि उत्पादनमा भने वृद्धि भएको छ ’– सूचना अधिकारी श्रेष्ठले भने ।


उनले गतवर्ष उक्त क्षेत्रफल जग्गामा ७३ हजार ९० मेट्रिक टन गहुँ उत्पादन भएको थियो भने यसवर्ष उत्पादन बढेर ७७ हजार ७०८ मेट्रिक टन गहुँ उत्पादन भएको छ ।

‘खेती गर्ने जग्गाको क्षेत्रफल घटेपनि यसवर्ष गत वर्षभन्दा चार हजार ६१८ मेट्रिक टन गहुँ बढी उत्पादन भएको छ, बिउको प्रतिस्थापन दर बढ्दो भएका कारण र हाइब्रिड जातको बिउको बढी प्रयोगका कारण पनि उत्पादनमा वृद्धि भएको हो’– उनले भने । किसानहरूले गहुँ खेती गर्ने जग्गामा विभिन्न तरकारीजन्य खेतीतर्फ आकर्षित हुँदा र तरकारीसहित अन्य खेती गर्दा क्षेत्रफल घटेको उनको भनाइ छ ।

समयसमयमा किसानका खेतमै पुगेर गहुँबालीको अनुसन्धान गर्ने, बाली उपचार शिविरको सञ्चालन गर्ने, घुम्ती स्थलगत तालिम तथा विभिन्न सचेतना कार्यक्रमहरु गर्ने गरेका कारण पनि क्षेत्रफल घटेपनि उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कार्यालयका अनुसार गत वर्ष ३ दशमलव ४० मेट्रिक टन प्रतिहेक्टर गहुँ उत्पादकत्व रहेकोमा यसवर्ष ३ दशमलव ७२ मेट्रिक टन प्रतिहेक्टर गहुँ उत्पादकत्व रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारत-पाकिस्तान युद्धः बाँकेका सीमा नाकामा गस्ती र कडाई

२६ बैशाख २०८२, शुक्रबार १९:३४
नेपालगञ्ज : भारत र पाकिस्तानबीच पहलगाम हमलापछि युद्ध चर्किँदै गएपछि नेपाल-भारत सीमामा दुबै तर्फबाट निकै कडाई गरिएको छ । सम्भावित घुसपैठ हुन सक्ने भन्दै नेपालगञ्जस्थित जमुनाहा नाका र जिल्लाका सबै अन्य साना नाकाहरुमा सुरक्षामा कडाई बढाउँदै नाकाबाट आवागमन गर्ने नेपाली तथा विदेशीहरूका लागि सशस्त्र प्रहरीले अनिवार्य परिचयपत्र लागू गरेको छ […]