
कोहलपुर (बाँके) : बाँके निर्वाचन क्षेत्रनं १ नेपाली कांग्रेस बाँकेको आयोजनमा विकास निर्माणका सन्दर्भमा पार्टी नेतृत्व र जनप्रतिनिधिबीच संवाद विषयक अन्तरसंवाद कार्यक्रम कोहलपुर नगरपालिकामा सम्पन्न भएको छ ।
नेपाली काँग्रेसको सांगठनिक संरचना अन्तर्गत केन्द्रिय कार्यसमितिको १०० दिने अभियान, जिल्लाको ४ महिने अभियान र क्षेत्रीय कार्यसमितिको ‘टोल टोलमा कांग्रेस अभियान’ अन्तर्गत कोहलपुर नगरपालिकाका १५ वटै वडामा २ महिनासम्म सञ्चालन गरिएको अभियानका क्रममा उठेका समस्याहरूको समाधान तथा आगामी आव. २०८२÷०८३ को बजेटमा सम्बोधनका लागि पालिका सम्वाद कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस बाँकेका जिल्ला सभापति नारायण प्रसाद गौडेलले कांग्रेस निकटका जनप्रतिनिधिहरूको काम गर्ने शैलीले आम जनताको मन जित्न सफल भइरहेको आफुले पाएको दाबी गरे । उनले जनप्रतिनिधिहरूले जनताको भावना बुझेर, सरल, जिम्मेवार र पारदर्शी ढंगले काम गर्दै आएका कारण कांग्रेसप्रति जनविश्वास थप बलियो बन्दै गएको बताए ।
उनले विकास निर्माणका नाममा अनावश्यक खर्च र स्रोतको दुरुपयोग गर्ने प्रवृत्तिले जनताको भरोसा गुमाउने भएकाले प्रत्येक योजना र बजेट खर्च पारदर्शी र परिणाममुखी बनाउनुपर्ने धारणा राखे । उनले पार्टी अनुशासन र नीति विपरीत हुने कुनै पनि कामलाई ठाउँ नदिने स्पष्ट पारे ।

कार्यक्रमको सभापतित्व गर्दै नेपाली कांग्रेस क्षेत्रीय सभापति पोषण केसीले पालिकास्तरमा सञ्चालन हुने विकास निर्माणका योजना र कार्यक्रमहरू पार्टीको विचारधारा, नीति र सिद्धान्तसँग मेल खानेगरी सञ्चालन गर्नुपर्नेमा विशेष जोड दिए ।
उनले पार्टीले अघि सारेको राष्ट्रियता, लोकतन्त्र र समाजवादको मूल नारालाई व्यवहारमा उतार्नका लागि स्थानीय सरकार र पार्टी नेतृत्वबीच बलियो सहकार्य आवश्यक रहेको बताए । केसीले भने्, ‘हाम्रो पार्टीको दर्शन जनतासँग प्रत्यक्ष जोडिएको छ । त्यसैले विकास योजनाहरू बनाउँदा स्थानीय जनताको सरोकार र चाहना अनुसार नीति निर्माण र बजेट विनियोजन हुनु जरुरी छ । केवल शहरी सुन्दरताका नाममा सम्पन्न वर्गलाई मात्र लक्षित गरेर योजना बनाउने प्रवृत्ति अन्त्य गरेर गाउँ, टोल र सीमान्तकृत समुदायसम्म सेवा पु¥याउने खालका कार्यक्रम ल्याइनुपर्छ ।’
उनले पछिल्लो समय जनप्रतिनिधिहरूले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको भान केही स्थानमा देखिएको उल्लेख गर्दै कांग्रेस नेतृत्वले विकासको हरेक पक्षमा गहिरो निगरानी र निर्देशन दिनुपर्ने आवश्यकता औँल्याए । ‘पार्टीको विचार र नीति अनुसार काम नगर्ने प्रवृत्ति नियन्त्रण नगर्ने हो भने जनतामा कांग्रेसप्रतिको विश्वास कमजोर बन्न सक्छ,’ उनले भने ।

क्षेत्रीय सभापति केसीले जनतासँगको सम्पर्क सशक्त बनाउन पार्टी नेतृत्व, वडास्तरीय समिति र जनप्रतिनिधिहरूबीच नियमित संवाद र अन्तरक्रिया आवश्यक रहेको बताए । उनले आगामी बजेट निर्माण प्रक्रियामा वडास्तरका योजना समिति, टोल विकास संस्था र सर्वसाधारण नागरिकको सुझाव लिने व्यवस्था गरिनुपर्ने सुझाव समेत दिए ।
उनले पार्टी नेतृत्वले आफूलाई जनताप्रति जिम्मेवार ठान्दै नगरपालिकाभित्रका हरेक विकास निर्माणको निगरानी र मूल्यांकनमा सक्रिय भूमिका खेल्नुपर्ने बताए । ‘जनप्रतिनिधिले गरेका काम, योजना र बजेटको प्रभाव प्रत्यक्ष जनतासँग साक्षात्कार गरेर मात्र पार्टीले सही मूल्यांकन गर्न सक्छ,’ केसीले भने ।
उनले युवाहरूको सक्रिय सहभागिता, महिला सशक्तीकरण, लैङ्गिक समानता, सामाजिक समावेशिता र साना लघु उद्यमका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याउँदै आगामी वर्षको बजेटमा यी विषयहरूलाई विशेष प्राथमिकतामा राखेर योजना बनाउन नगरपालिकालाई आग्रह गरे ।
केसीले भने,‘जनताको भलो गर्ने भन्ने साँचो मनले काम गरे कांग्रेसको छवि झन मजबुत हुन्छ। हामी सबै मिलेर पार्टीको नीति, विचार र जनताको चाहना अनुसार विकास र सुशासनको अभ्यास गरौं ।’
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य अञ्जना पाण्डेले स्थानीय सरकारलाई जवाफदेही बनाउनु पर्ने बताईन् । जनप्रतिनिधिले जनताको सेवामा इमानदार रहनुपर्ने र पार्टीले निरन्तर निगरानी राख्नुपर्ने आवश्यकता औंल्याईन् ।
कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले कार्यक्रममा बोल्दै नगरको समग्र विकास र जनताको अपेक्षा पूरा गर्न सबै पक्षको सहकार्य अनिवार्य रहेको धारणा व्यक्त गरे । उनले विकासको प्रक्रिया केवल नगर कार्यपालिकाको जिम्मेवारीमा सीमित नभई जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, कर्मचारी, सर्वसाधारण र सञ्चारकर्मीको संयुक्त प्रयासबाट मात्र सफल र दिगो बन्न सक्ने स्पष्ट पारे ।
उनले पछिल्ला वर्षहरूमा नगरपालिकाले साना र ठूला योजनाहरू सञ्चालन गर्दा देखिएका समन्वय अभावका कारण कतिपय योजनामा चुनौती देखिएको उल्लेख गर्दै अब भने नगरपालिकाले समन्वयात्मक शैलीमा काम गर्ने नीति लिएको बताए । ‘अब योजनाको छनोटदेखि कार्यान्वयन र अनुगमनसम्म सबै सरोकारवालाको सहभागिता सुनिश्चित गर्नेछौं,’ आचार्यले बताए ।
नगर उपप्रमुख संगीता सुवेदीले पार्टीप्रति पूर्ण जिम्मेवार बन्दै स्थानीय जनता र आम कार्यकर्ताको भावना अनुसार काम गरिरहेको बताउँदै, जनताको अपेक्षा, कार्यकर्ताको चाहना र पार्टीको नीति अनुसार काम गर्न हामी निरन्तर प्रयासरत रहेको बाईन । उनले आगामी दिनमा अझ परिस्कृत शैली र पारदर्शी ढंगले काम गर्दै जनताको ढोका–ढोका पुगेर समस्या सुन्ने र समाधान गर्ने कार्यलाई संस्थागत बनाइने प्रतिबद्धता व्यक्त गरिन् ।
कार्यक्रममा सहभागी नेताकार्यकर्ता र जनप्रतिनिधिहरूले पालिकाको विकासका सवालमा पार्टी नेतृत्व र जनप्रतिनिधिबीच नियमित संवादको आवश्यकता औँल्याउँदै राष्ट्रियता, लोकतन्त्र र समाजवाद भन्ने मूल नारालाई व्यवहारमा उतार्न सबै पक्षको सहकार्य अपरिहार्य रहेको धारणा राखेका थिए ।


