
विराटनगर : नेपाल सरकारको गृह मन्त्रालयले विराटनगर भन्सार क्षेत्रमा रहेको आपतकालीन गोदामघर कोशी प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ ।
गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई चाबी प्रदान गरी गोदाम घर हस्तान्तरण गरेका हुन । विराटनगर भन्सार कार्यालयमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले गोदाम घर हस्तान्तरण मात्र नभई संघीयताको कार्यान्वयनका लागि समेत यो कदम उठाइएको बताए ।
उनले संघीय सरकार संघीयता कार्यान्वयनमा प्रतिबद्ध रहेको उल्लेख गर्दै विपद् व्यवस्थापनमा सहकार्य गरिरहेको जानकारी दिए । उनका अनुसार चाँडै नै शिक्षा विधेयक, निजामती विधेयक, नेपाल प्रहरीसम्बन्धी विधेयकहरू पास गरेर संघीयताको कार्यान्वयनलाई अघि बढाउने तयारी भइरहेको छ ।
सरकारले व्याप्त निराशालाई आशामा बदल्ने र स्थायित्व दिनका लागि गठबन्धन बनेको उल्लेख गर्दै गृहमन्त्री लेखकले भने–‘यो गठबन्धनले स्थायित्वको सन्देश दिएको छ, औद्योगिक वातावरण निर्माण गरेको छ, मुद्रा सञ्चिति बढाएको छ र समग्र आर्थिक सूचकाङ्कमा पनि वृद्धि भएको छ ।’ छोटो १० महिनाको अवधिमा सरकारको आर्थिक प्रगति र निराशालाई आशामा बदल्ने काम उल्लेखनीय रहेको उनको भनाइ थियो ।
कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले अहिलेको सरकार गठन भएपछिमात्रै प्रदेशलाई अधिकार हस्तान्तरण हुने प्रक्रिया सुरु भएको बताए । संघीय सरकारबाट अधिकार हस्तान्तरणमा भएका प्रयासहरू सकारात्मक रहेको बताउँदै उनले एकैचोटि सबै अधिकार हस्तान्तरण गर्न कठिनाइ हुने स्पष्ट पारे े।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकार संवैधानिक र कानुनी रूपमा अघि बढिरहेको बताए । तर कतिपय कर्मचारीको साँघुरो सोच र ज्ञानको अभावले समस्या भएको समेत मुख्यमन्त्री कार्कीले स्पष्ट पारे ।
कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरोहन भण्डारीले विपद् व्यवस्थापनमा प्रदेशले गरेका कार्यको चर्चा गर्दै संघीय सरकारले दिनुपर्ने अधिकार तुरुन्त दिनुपर्नेमा जोड दिए ।
कार्यक्रम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर दिनेश भट्टको अध्यक्षतामा सम्पन्न भएको हो ।
हस्तान्तरण गरिएको गोदाम घरमा टेन्ट, त्रिपाल, शेल्टर किट, स्लीपिङ ब्याग, ब्लाङ्केट लगायत ११ प्रकारका सामग्रीहरू रहेका छन् । नेपाल सरकारले हरेक प्रदेशमा यस्ता गोदामहरू निर्माण गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्दै आएको छ । यी गोदामहरूमा दातृ निकायहरूले उपलब्ध गराएका विपद् व्यवस्थापन सम्बन्धी अत्यावश्यक सामग्रीहरू भण्डारण गरिएका छन ।
अबदेखि विराटनगर भन्सार क्षेत्रमा रहेको सो गोदाम घर र त्यसको क्षेत्र प्रदेश सरकारको मातहत रहने प्रमुख कार्यकारी अधिकृत दिनेश भट्टले जानकारी दिए ।


