काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले पदमा रहँदा त्यस्को दुरुपयोग गरी कुनै पनि आफन्तलाई कहीँ–कतै अवसर दिएको प्रमाण भए सार्वजनिक गरी आफूहरुलाई गलत सावित गरिदिन खुला प्रस्ताव गरेकी छन् ।
प्रेस चौतारी नेपालले उनको दोस्रो पुस्तक ‘करुणा’ बारे सम्पादकहरूसँग आयोजना गरेको सम्वादमा शाक्यले यस्तो आग्रह गरेकी हुन ।
सम्पादकहरूसँगको संवादमा करुणाकी लेखिका शाक्यले ओली राज्यको विभिन्न पदमा हुँदा कोही पनि नातागोता, आफन्तलाई पदको दुरुपयोग गरी भर्ना नगरिएको र अनुचित सुविधा नदिइएको बताईन ।
‘केपी सर पदमा रहँदा, मन्त्री, प्रधानमन्त्री हुँदा कोही पनि आफन्त वा नातागोतालाई अवसर दिइएको वा कतै लगाएको छैन । हामीबाट त्यो कुरा भएको छ, मेरो कुरा गलत लाग्छ भने तपाईहरुले कृपया प्रमाण सार्वजनिक गरिदिनोस,’ शाक्यले भनिन ।
उनले आफू कडा स्वभावको भएकै कारण कोही पनि आफूसँग कुनै प्रकारको माग र आकांक्षा लिएर नआउने र प्रधानमन्त्री ओलीले पनि त्यस्तो काममा लागिन्न भन्ने प्रष्टै जवाफ दिने गरेको तथ्य सुनाईन । ‘मसँग त त्यस्तो माग लिएर कोही आउँदैनन् । मैले केही गर्दिनँ भन्ने पनि थाहा छ, म कडा छु भन्ने पनि थाहा छ सबैलाई,’ प्रधानमन्त्रीपत्नी शाक्यले सुनाईन, ‘हामीतिर आउनका लागि मान्छे खोज्दै हिँड्दा रहेछन् । कसलाई भन्दा त्यहाँभित्र जान सकिन्छ कि भनेर खोज्ने रहेछन, मेरो बहिनीहरु त्यस्को मारमा धेरैपटक परेका पनि छन ।’
उनले घरतिरका भन्दा पनि आफ्ना माइती पक्षका मानिसलाई विभिन्न स्वार्थ बोकेका मानिसले त्यसरी दुःख दिन आउने गरेको घटना सुनाईन । मानिसहरूले पहुँच बनाइदिनका लागि आफ्नो कान्छी बहिनी–ज्वाइँलाई दुःख दिएकै कारण आफ्नो गाउँ छाडेर अर्को गाउँमा गएर बस्नु परेको घटना पनि शाक्यले सुनाईन ।


‘हाम्रो नातागोतालाई कहीँ–कतै सानो ठुलो पावरमा भएको हैसियतले राखिदिएको, केही गरिदिएको भेट्न सक्नुहुन्छ भने खोज्नुस, भेटटाउनु भयो भने भन्नोस, म तपाईहरुलाई अनुरोध गर्छु,’ शाक्यले थपिन, ‘एक जना कोही मान्छेलाई पनि एउटा सानो पदमा भर्ना गरेको छैन अहिलेसम्म ।’
शाक्यले आफूहरुले पदको दुरुपयोग नगरेको भए पनि बाहिर सवै उस्तै होलान भन्ने कुराले अनेक आक्षेप लगाउने गरेको र त्यो घटनाको एउटा प्रमाण आफ्नै बहिनी रहेको बताईन । केपी ओलीले सवै नातागोतालाई गाडीको सुबिधा दिएको भनेर कान्छी बहिनीलाई ट्याक्सी चालकले भनेको र अनेक आक्षेप लगाएको घटना शाक्यले बहिनीले सुनाएको बताईन ।
‘मेरो कान्छी बहिनी नर्स हो, प्रसूति अस्पतालको स्टाफ नर्स, साँझ क्लिनिकमा पनि काम गर्ने गरेकी रहिछन । एकदिन क्लिनिकमा जान हतार भएर ट्याक्सी चढेर गइछन,’ शाक्यले सुनाईन, ‘ट्याक्सी चालकले बाटोमा राजनीतिक विषयबारे चर्चा गर्दै केपी ओली यस्तो–उस्तो भनेर अनेक कुरा भनेछन । ओलीले नाता–गोतामात्र हेर्छ, आफन्तलाई गाडीलगायत विभिन्न सुविधा दिन्छ भनेर ट्याक्सी चालकले भनेछ । त्यो सुनेर बहिनीलाई खुब रिस उठेछ ।’
उसैले चलाएको गाडीमा चढेको छ तर ओलीले आफन्तलाई गाडी–सुविधा दिएको छ भनेर त्यो चालकले भनेको कुरा सुन्दा बहिनीलाई अति नै रिस उठेको र ओर्लने बेला मै हो साली केपीको, गाडी सुबिधा दिएको भए तपाईंको ट्याक्सी चढथें होला भनेर जवाफ फर्काएको शाक्यको भनाइ थियो ।
‘रिसको पारा चढेपछि ट्याक्सीबाट झर्ने बेलामा चालकलाई बहिनीले गाली गरिछ । म ओलीको साली हो, हामीले कहाँबाट गाडी सुविधा पाएको छ ? सुविधा पाएको भए तिम्रो ट्याक्सीमा चढ्नु पथ्र्यो र भनेर उसले बेस्सरी भनिछ,’ घटना सुनाउँदै शाक्यले भनिन । सम्पादकहरूसँग खुलेर प्रस्तुत भएकी प्रधानमन्त्रीपत्नी शाक्यले आफू राजनीतिमा नआउने प्रष्ट बटमलाइन पनि सुनाईन । राजनीतिमा आउन लागेको हो भन्ने सम्पादकहरूको प्रश्नबारे टिप्पणी गर्दै शाक्यले आफू एक सामान्य नेपाली नागरिक भएको र आफ्नो विचार किताबमार्फत व्यक्त गरेको बताईन ।
‘अब केपी ओलीले श्रीमतीलाई अगाडि सार्न लाग्यो कि क्या हो भनेर कता–कता प्रश्न गरेको मैले सुनेकी छु,’ शाक्यले भनिन, ‘तर केपी ओलीले मलाई राजनीतिमा जाऊ भनेर भन्नुभएको पनि होइन, मैले राजनीति गर्छु भनेर यो गरेको पनि होइन, म आउदा पनि आउँदिन, तपाईंहरू ढुक्क हुनोस–त्यो मेरो बाटो हुँदा पनि होइन ।’ शाक्यले राजनीतिमा नआए पनि आफू राजनीतिप्रति चासो राख्ने र जानकार भएको बताईन । ‘म राजनीतिमा आउँला कि, यसो–उसो भनेर चिन्ता नगर्न म विनम्र अनुरोध गर्दछु,’ शाक्यले भनिन ।
प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेको अध्यक्षता र महासचिव हिरामान लामाले सञ्चालन गरेको सम्वादको क्रममा शाक्यले प्रधानमन्त्री केपी ओलीको अध्यययन, दिमागदेखि कमजोरीसम्मका बिषयमा खुलेर प्रस्तुत भएकी थिईन । कार्यक्रममा समालोचक, बरिष्ठ साहित्यकार डा. देवी नेपाल र बरिष्ठ पत्रकार बबिता बस्नेतले शाक्यको पुस्तक ‘करुणा’ को बिषयमा आफ्नो समीक्षात्मक धारणा राखेका थिए ।