
नेपालगन्ज : नेपाली सिने जगतका महानायक राजेश हमालसहित ‘नरसिंह अवतार’ चलचित्रको टोलीले बिहिवार बाँके जिल्लामा स्थानीय पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । चलचित्र पत्रकार संघ नेपाल बाँके शाखाको आयोजनामा भएको पत्रकार भेटघाट कार्यक्रममा चलचित्रका कलाकार, निर्माता, निर्देशक लगायतको टोली उपस्थित रहेको थियो ।
बाँकेको नेपालगञ्जमा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा नेपाली चलचित्र उद्योगको वर्तमान अवस्था, प्रवृत्ति, सम्भावना र चुनौतीहरूबारे छलफल भएको थियो । त्यस क्रममा पत्रकारहरुसित कुराकानि गर्दै महानायक राजेश हमालले पश्चिम नेपालमा पनि सिनेक्षेत्रको बजार अँझ फस्टाउदै गएकोमा खुसी व्यक्त गरेका थिए ।
उनले भने, –‘हामी नेपाली सिनेमाको समृद्धिको यात्रामा छौं । अबको आवश्यकता भनेको गुणस्तरीय चलचित्र उत्पादन गर्नुका साथै दर्शकसँगको सम्बन्ध अझ बलियो बनाउनु हो । यो मेरो रुचिको बिषय पनि हो । त्यसैले हाम्रो यो यात्रा चलचित्रको प्रचार–प्रसार मात्रै नभई सिने क्षेत्रमा अवको आवश्यकताको खोजि पनि हो ।’


यस अवसरमा ‘नरसिंह अवतार’ फिल्मको विषयवस्तु, कार्यानुभव र देशभर प्रचारप्रसार गर्ने योजनाबारे कलाकारहरु राज कटुवाल, सनिसा भट्टराई तथा प्रकाश कुँवर लगायतले जानकारी गराएका थिए ।
कार्यक्रममा बाँकेका सन्चारकर्मीहरूले पनि नेपाली सिने क्षेत्रले पश्चिम क्षेत्रमा प्रचार–प्रसारको रफ्तार बढेको चर्चा गर्दै यहिँ भएको विश्वस्तरको सिनेमाघरमा अवको चलचित्रको प्रिमियर गर्नुपर्ने कुरामा समेत जोड दिएका थिए ।
चलचित्र ‘नरसिंह अवतार’को टोली देशका विभिन्न भागमा पुगेर अन्तरक्रियात्मक कार्यक्रमहरू गरिरहेको छ । फिल्म यहि जेठ ‘नौ’ गतेबाट देशव्यापी प्रदर्शनमा आएको थियो ।