
नेपालगञ्ज : करिब एक सातादेखिको बाक्लो हुस्सुसहित शितलहरका कारण बाँकेको जनजीवन प्रभावित भएको छ । चिसोको कारण बालबालिका, जेष्ठनागरिक अत्यन्तै प्रभावित भएका छन् ।
बाँकेमा केहीदिन यता घाम नलाग्दा चिसो अत्याधिक बढेको छ । चिसोसंगै कुहिरोले आकाश ढाकिएर पानी परेझै शित झर्दा कठांग्रीने जाडोका कारण जनजीवन प्रभावित भएको हो ।
केहीदिन यता बढेको चिसोकोकारण दैनिक गुजारा गर्ने मजदुर प्रभावित भएको नेपालगञ्ज–१० का रमजान मास्टर बताउछन । उनले भने–‘ जाडो अधिक छ । काम गर्न सकेको छैन । न्यानो बनाउने दाउरा पनि पाईदैन गुजारा गर्नै गाह्रो भएको छ ।’
बिहानैदेखिको कुहिरो र शीतलहरले गर्दा आफुहरु जस्ता बटुवाका लागि अत्यन्तै असहज भएको धनिराम गिरी बताउछन् । उनले आफुहरु भन्दा पनि जेष्ठनागरिक, बालबालिकालाई अत्यन्तै कठिन भएको बताए ।
‘केही दिनदेखिको अत्यन्तै जाडो र चिसोको कारण चिसोको कारण मानव र घरपालुवा पशु अत्यन्तै प्रभावित भएकोले अवस्था दिनप्रतिदिन कठिन बन्दै गएको छ’–उनले भने ।
बढ्दो चिसोसंगै बाटोमा वा चोकचोकमा नेपालगञ्ज उपमहानगरले सामुहिक आगो ताप्ने व्यवस्था मिलाउनु पर्ने नेपालगञ्ज–४ का हाजी रौनक अलीको भनाई छ ।

जोडोको कारण काम गर्ने मजदुरले काम नपाउने र पाएको काम पनि चिसोको कारण कठांग्रीएर गर्न नसक्ने हुँदा असहज परिस्थती आएको नेपालगञ्ज–११ का अर्श अन्सारी बताउछन ।
राति पनि शीतलहर चलेका कारण चिसो बढी हँुदा दम तथा स्वास प्रस्वासका बिरामीको चाप अस्पतालमा बढ्दो रहेको भेरी अस्पतालका निमित्त मेसु डा. राजन पाण्डेले जनाकारी दिए ।
कुहिरो र शीतलहरका कारण चिसो सिरेटो चलदा तापक्रम घटेपछि चिसो बढी महसुस भएको हो । बजारमा मानिसहरुको चहलपहल पातलिएको छ । मजदुरी गर्नेहरु, विहान स्कुल तथा कलेज जानेहरु चिसोको मारमा परेका छन् ।
तराईमा बर्सेनी शितलहरका कारण कतिपय निम्न आय भएका मानिसहरुले ज्यान गुमाउने गरेका छन् । त्यस्तो अवस्था आउन नदिन मानिसहरुले घरभित्रै बस्नुपर्ने, आगो ताप्नुपर्ने, उपलब्ध न्यानो कपडाहरु लगाउनु पर्ने र कुनै समस्या देखिए तत्कालै स्वास्थ्य चौकी वा स्वास्थ्य संस्थामा जानुपर्ने चिकित्सकहरुको सुझाव छ ।



