
बुटवल : प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षभित्र बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति गरिसकिने बताएका छन । उनले विकास निर्माण र पूर्वाधारका हिसाबले अब नेपाल अघि बढिसकेको दाबी गरे ।
प्रधानमन्त्री ओलीले सुरूडमार्ग, प्रशासनिक तथा अस्पताल भवन निर्माण र अन्य विकासका कामलाई सरकारले तीव्रता दिने बताएका हुन ।

उनले आगामी तीन वर्षभित्र बुटवल–गोरूसिङ्गे सडकखण्ड विस्तार गरिसक्ने घोषणा गरे । सिद्धबाबा सुरूङमार्गको सफलतापूर्वक ब्रेक थ्रु हुनु एक उपलब्धि भएको बताउँदै उनले उच्च सङ्कल्प र आँटका साथ देशको विकास हामीहरू आफैँले गर्नुपर्ने जोड दिँदै यसमा विदेशी सहयोगी हातहरूको पनि साथ लिने स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले धर्म, जात र अनेक नाममा विभाजन र भ्रम फैलाउन खोज्ने पक्षहरूलाई बेवास्ता गरी एकताबद्ध भई देश बनाउने मार्गमा अग्रसर हुन सबैमा आग्रह गरे । कार्यक्रममा उपप्रधानमन्त्रीहरू प्रकाशमान सिंह, बिष्णुप्रसाद पौडेललगायतले सम्बोधन गरेका थिए ।


