बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवल उपमहानगरपालिका–१० मा रहेको कालिका मानवज्ञान माध्यमिक विद्यालय देशकै उत्कृष्ट सामुदायिक विद्यालय भएको बताएका छन ।उनले आईतबार कालिका मानवज्ञान माध्यमिक विद्यालयको ६४ औं बार्षिकोत्सव एवम् अभिभावक दिवस उद्घाटन गर्दै सो कुरा बताएका हुन ।
सो अवसरमा मुख्यमन्त्री आचार्यले कालिका विद्यालयले हाँसिल गरेका शैक्षिक उपलब्धिहरु प्रदेशका अन्य विद्यालयहरुका लागि बलियो सिकाई केन्द्रको रुपमा लिनुपर्ने कुरामा जोड दिए ।
‘यस विद्यालयले सबै क्षेत्रमा उत्कृष्ठता हाँसिल गरेको छ । यसबाट अन्य विद्यालयहरुले सिक्न जरुरी छ’ उनले विद्यालयको प्रशंसा गर्दै भने,‘विद्यालयले गर्ने हरेक क्रियाकलाप र भावि योजनामा प्रदेश सरकारको साथ सहयोग रहन्छ । यो विद्यालयले हाँसिल गरेका उपलब्धीले सिंगो लुम्बिनी प्रदेशको गौरव बढाएको छ ।’
विद्यालयलाई यस उचाईमा ल्याईपु¥याउन भूमिका खेल्ने सबै बधाईको पात्र रहेको चर्चा गर्दै मुख्यमन्त्री आचार्यले विद्यालयले यो उचाई सधैं कायम राख्न निरन्तर भूमिका बढाइरहनु पर्ने बताए । ‘अथक प्रयत्न र पौरखले यो विद्यालयले उत्कृष्ठताको उचाई हाँसिल गरेको छ । यस प्रकारको उचाईले प्रदेशको गौरव बढाएको छ’ उनले भने,‘प्रदेश सरकारले तपाईहरुलाई सम्मान गर्न चाहन्छ ।’
बहुआयामिक क्षेत्रमा विद्यालयले हाँसिल गरेका उपलब्धिहरु शैक्षिक विकासको लागि बलियो स्रोत बन्नेमा मुख्यमन्त्री आचार्यले विश्वास व्यक्त गरे । ‘रिजल्टको हिसावले भन्नुस या अतिरिक्त क्रियाकलापको हिसावले भन्नुस यो विद्यालय देशमै नमुना छ । यहाँबाट उत्पादन भएका विद्यार्थीले जस्तो सुकै प्रतिस्पर्धामा पनि सफलता प्राप्त गरेका छन्’उनले भने,‘विद्यार्थी, शिक्षक, अभिभावक एवम् सिंगो समुदायले गरेको मेहनतको प्रतिफल हो ।’
वि.सं. २०१७ सालमा स्थाना भएको विद्यालय देशकै नमुना विद्यालयको रुपमा स्थापित छ । विद्यालयले बार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न रचनात्मक कार्यक्रम गरेर मनाएको हो । मुल समारोह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा भएको थियो ।
सो अवसरमा मुख्यमन्त्री आचार्यले विद्यालयको मुखपत्र २०८१ को विमोचन गरे । विद्यालयका प्रधानाध्यापक दिनेश थापाले बार्षिक प्रगती विवरण प्रस्तुत गरेको कार्यक्रमको सहजीकरण सुदर्शन रेग्मीले गरेका थिए ।