नेपालगञ्ज : नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले भर्खरै सम्पन्न स्थानीय तहको उपनिर्वाचनको परिणामले पार्टीलाई खासै ठूलो क्षति नभएको दाबी गरेका छन् ।
नेपाल प्रेस युनियन बाँकेले शुक्रबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्व रक्षामन्त्री समेत रहेका रिजालले भने–‘स्थानीय तहको उपनिर्वाचनमा अनुमान गरे भन्दा कम मत प्राप्त भयो, तर आम निर्वाचनमा भन्दा मत बढेको छ ।’
काँग्रेस केन्द्रीय सदस्य डा. रिजालले भने–‘काँग्रेस आफ्नो आधारमा छ, तलको आधार हल्लिएको छैन, उपनिर्वाचनको मत परिणामले पार्टीलाई खासै ठुलो क्षति भएको छैन । हामीले केही स्थान गुमाएका छौँ, तलको आधार हल्लिएको आशङ्का थियो, तर त्यस्तो भएको छैन, तर पनि आधारलाई थप सुदृढ गर्नुपर्छ भन्ने हो । जनआधार थप मजबुद बनाउन पार्टीले थप गृहकार्य गर्न जरुरी छ ।’
डा. रिजालले काँग्रेस–एमाले एकै ठाउँमा भएर नै दोस्रो संविधानसभाको निर्वाचन सम्पन्न गरेको भन्दै काँग्रेस एमालेको सरकारले सरकारका संयन्त्रलाई कसरी जनताका पक्षमा काम गर्न सकिन्छ भनेर लाग्नुपर्ने बताए ।
सहकारी ठगी प्रकरणका बारेमा उनले भने–‘अरुले ठग्यो मैले पनि ठग्न पाउनुपर्छ भन्ने मान्यता राखेको पाइयो, यो गलत हो । यस सम्बन्धी मुद्दाहरु अहिले छानबिनकै क्रममा छन् । यो समयमा को दोषी हो, को निर्दोष हो भनेर बाहिर टिकाटिप्पणी गर्न मिल्दैन, यस विषयमा कुनै पनि कुरा बोल्न मिल्दैन ।’
समानुपातिक प्रतिनिधित्वको व्यवस्थाले ठुलो उपलब्धि भएको भन्दै उनले भने, ‘संविधानमा राखिएको समानुपातिक प्रतिनिधित्वको व्यवस्थाले ठुलो उपलब्धि भएको छ, यसलाई जोगाउनुपर्छ । तर नआउनुपर्ने मान्छे आए र आउनुपर्ने मान्छे आएनन् भन्ने चर्चा छ, यसलाई सम्बोधन हुनुपर्छ । हामीले बनाएको प्रणालीमा कहिँ कतै कमजोरी देखिन्छ, यसलाई सच्याएर समानुपातिक प्रणालीमा देखिएको विकृतिलाई हटाउँदै संविधान संशोधन गर्नुपर्छ ।’ समानुपाति सिट ११० बाट घटाएर ६० मा झार्नुपर्ने उनको भनाइ थियो ।
संविधान संशोधन गर्दा संघीयताको कार्यान्वयनमा भएका कठिनाइका विषय, स्थानीय सरकार र प्रदेश सरकारलाई हेर्ने संरचनालगायतका विषयमा सम्बोधन हुनुपर्ने उनले बताए ।
सरकार ढल्ने र ढाल्ने खेल हुन्छ कि हुन्न भन्ने प्रश्नको एक प्रसङ्गमा डा. रिजालले भने–‘अहिलेको सरकारका बारेमा काँग्रेसको कुनै गलत नियत छैन, नियतमा खोट छैन, प्रधानमन्त्री ओलीले पनि हामीलाई धोका दिने कुनै कारण छैन । हामीले पनि उहाँलाई धोका दिनुपर्ने कुनै कारण छैन, सहमतिकै आधारमा यो सरकार अघि बढ्छ ।’
जनताका आशालाई जागृत गर्न नसकेको, जनताका निराशा चिर्न नसकेको, स्वस्थ खालको राजनीतिक बहस हुन नसकेको भन्दै उनले काँग्रेस–एमालेको सरकारले तमाम विषयमा जनताका समस्याहरु हल गरी देखिनेगरी काम गर्नुपर्ने बताए ।