नेपालगञ्ज : लायन्स तथा लियो क्लब अफ नेपालगञ्ज खजुराको आयोजनामा ‘जीईएन जेड ए आई भिओ–१’ नामक आर्टिफिसियल ईन्टेलिजेन्टस (एआई) सम्बन्धी तालिम सम्पन्न भएको छ ।
खजुरा गाउँपालिकाको मुख्य सहकार्यमा सञ्चालनमा रहेको सो तालिमा नेपालगञ्जको नेपालगञ्ज क्याम्पस अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजि (एनसिएमटी) को प्रमुख सौजन्य रहेको थियो ।
कार्यक्रममा खजुरा गाउँपालिकाका कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई आर्टिफिसियल ईन्टेलिजेन्टस (एआई) सम्बन्धी आधारभूत अवधारणा, यसको दैनिक जीवनमा उपयोग, देखापर्न सक्ने सम्भावित चुनौतीहरू, तिनीहरूको समाधानका उपायहरू तथा एआईको सदुपयोग गर्ने तरिका सम्बन्धी महत्वपूर्ण प्रशिक्षण गरिएको थियो ।


यस तालिममा नेपालगञ्ज क्याम्पस अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजिका एकेडमिक कोर्डिनेटर अंकित श्रीवास्तवले प्रमुख प्रशिक्षक रहेका थिए । उनले एआईको सम्भावनाहरू, भविष्यमुखी करियर, उद्योग र व्यावसायिक क्षेत्रमा यसको उपयोगिता लगायतका विषयमा विस्तृत र व्यावहारिक प्रशिक्षण दिएका थिए ।
खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले एआईको वर्तमान युगमा खजुराका विद्यार्थीहरूलाई यसको ज्ञान प्रदान गर्न सफल यो तालिम स्मार्ट गाउँपालिकाको परिकल्पनातर्फ एक महत्वपूर्ण कदम रहेको बताए । उनका अनुसार, एआईको प्रभावकारी प्रयोग गरी खजुराका युवा वर्गले भविष्य निर्माण गर्न सक्छन् र गाउँपालिकालाई प्रविधिमैत्री बनाउन सकिने कुरामा उनको जोड थियो ।
यस तालिमले खजुराका विद्यार्थीहरूलाई प्रविधिमैत्री बनाउन मात्र नभई, उनीहरूलाई भविष्यमा दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । तालिमले भविष्यमा पनि यस्ता प्रविधि–केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्दै नेपालगञ्ज तथा आसपासका विद्यार्थीहरूलाई डिजिटल युगसँग कदमताल मिलाउन सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।