नेपालगञ्ज : नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाँकेले भेरी अस्पताल विकास समितिको सटर भत्काउने कामलाई हठात् भनेको छ । अस्पताल विकास समितिले अस्पतालको स्तरवृद्धि र सौन्दर्यकरणका लागि भन्दै अस्पतालले अस्पताल परिसरमा रहेका सटरहरु भत्काउन थालेपछि रेडक्रसले बुधवार पत्रकार सम्मेलन गरी उक्त निर्णयलाई हठात् भनेको हो ।
अस्पताल परिसरभित्र रेडक्रसको दुई तले रक्तसंचार केन्द्र छ भने त्यही भवनसँग जोडिएको पूर्वतर्फ ६ सटरसहितको एक तले भवन छ । २०४६ सालमा मन्त्रिपरिषद्को निर्णयबाट अस्पताल विकास समितिले एक हजार इस्क्वायर फुट जग्गा प्रदान गरेको थियो । त्यो भवनमा रक्त संचार केन्द्र छ भने नगर विकास समितिले उपलब्ध गराएको जग्गामा ६ सटरसहितको एक तले भवन छ ।
ती भवनसहितको सटर भत्काउन अस्पताल विकास समितिले रेडक्रसलाई १५ दिने अल्मिेटम दिएको थियो । अस्पतालको स्तरवृद्धि र सौन्दर्यकरणका लागि आफुहरु सहमत भएपनि हठातरुपमा संरचना भत्काएर रक्तसंचार जस्तो अतिसंवेदनशील बिषयमा अस्पताल विकास समिति गैरजिम्मेवार बनेको रेडक्रस बाँकेका सभापति गोर्बधनसिंह सम्झनाले बताए ।
उनले रक्तसंचार केन्द्र स्थापनाका लागि जग्गाको व्यवस्थापनदेखि भवन निर्माण गर्न समय लाग्ने भएकाले तत्काल अस्पताल विकास समितिले निर्णयलाई कार्यान्वयन गर्न मानवीय हिसावले पनि सम्भव नभएको बताए ।
अस्पतालको निर्णयप्रति स्थानीय प्रशासन, राजनीतिक दललगायतलाई गुहारिसकेको रेडक्रसले अस्पताल विकास समितिको निर्णयलाई हठात् भनेको हो ।