प्रदेश निजामती सेवा ऐन संधोधन विधेयक सर्वसम्मतले पारित

सदरलाइन संवाददाता १९ भाद्र २०८१, बुधबार १९:१३
 

विराटनगर :  कोशी प्रदेशसभाको आजको बैठकले ‘प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ सर्वसम्मतले पारित गरेको छ ।

प्रदेशसभा नियमावली, २०७४ को नियम ९४(१)(क) बमोजिम मुख्यमन्त्री हिक्मतकुमार कार्कीका तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीले सदनमा विधेयक पेश गरेका थिए ।

सो प्रस्तावलाई सभामुख अम्बरबहादुर विष्टले निर्णायार्थ प्रस्तुत गरेपछि सर्वसम्मतले पारित गरेको हो । विधेयक पारित हुनु अगाडि विधेयक संशोधन प्रस्ताव दर्ता गरेका प्रदेशसभा सदस्यहरु रेवतीरमण भण्डारी, इन्द्रमणि पराजुली, कमलप्रसाद जवेगु र गोम्बू शेर्पाले संशोधन प्रस्ताव फिर्ता लिएका थिए ।

उनीहरुको प्रस्तावलाई आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीले ऐनलाई समृद्ध बनाउन संशोधनकर्ताहरुको सुझावलाई स्वीकार गरेको बताए । उनले ऐन बनाउने कार्य जटिल र चुनौतीपूर्ण भएको उल्लेख गर्दै विधेयकमा प्राप्त बुँदागत सुझावलाई सरकारले ग्रहण गरेको र सरकारले स्वास्थ्य सेवा ऐन अलग्गै ल्याउने जानकारी दिए ।

उनले रचनात्मक सुझावलाई परिमार्जन एवं परिस्कृत गर्दै आएको ऐनले निजामती कर्मचारीमा उत्साह बढ्ने विश्वास व्यक्क्त गरे ।

विशेष समय


नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को तर्फबाट विद्या चाम्लिङ्गले विशेष समयमा बोल्दै सरकारले हालसम्म पूर्णता नपाउँदा जनताका काममा समस्या भएको बताईन ।

उनले सरकारले सञ्चालन गरेका योजनाको गुणस्तर कायम गर्न अनुगमन र निरीक्षण प्रक्रियालाई कसिलो बनाउन सुझाव दिदै भनिन–‘लामो समयदेखि सरकारले पूर्णता नपाएकाले अस्तव्यस्त भएको छ ।’

कोशी प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले हालै सोलुखुम्बू जिल्लामा हिमताल फुटदा थामे गाउँको आधारभूत विद्यालय क्षतविक्षत भएकाले बाढी र पहिराले जनताका आधारभूत आवश्यकताका संरचनाहरु नष्ट भएको बताए ।

उनले ताल फुटेर आएको बाढीले सडक, पुल र मानवबस्तीमा ठूलो क्षति भए पनि सङ्घीय सरकार र प्रदेश सरकारबाट तत्काल राहत वितरण भएकामा धन्यवाद दिए ।

शून्य समय

शून्य समयमा कोशी प्रदेशसभा सदस्य रामप्रसाद महतो, होमबहादुर थापा, शोभा चेम्जोङ्ग र प्रदीप सुनुवारले मुलुकको समसामयिक विषयमा आफ्ना धारणा राखेका थिए ।

प्रदेशसभाको अर्को बैठक भदौ २५ गते अपराह्न २ बजे बस्ने जानकारी गराउँदै प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले आजको बैठक समापन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनीका मुख्यमन्त्री आचार्य भन्छन : योजनाको निगरानी जनस्तरबाट गरौं

१९ भाद्र २०८१, बुधबार १९:१३
अर्घाखाँची : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा सञ्चालनमा रहेका योजनाको गुणस्तरिय निगरानी गर्न आग्रह गरेका छन् । बुधबार शितगंगा नगरपालिकाका जनप्रतिनिधिहरुसंग छलफल गर्दै प्रदेश सरकारले विनियोजन गरेका योजनाको गुणस्तरीय कार्यान्वयनमा ध्यान दिन आग्रह गरेका हुन । मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले स्थानीय तहमा विनियोजन गरेर पठाएका योजनाको सहि र गुणस्तरीय […]