कोहलपुरमा ऐलानी जग्गा व्यवस्थित गरिँदै

सदरलाइन संवाददाता २४ माघ २०७९, मंगलवार १३:५६
 

कोहलपुर (बाँके) : कोहलपुर नगरपालिकाले ऐलानी जग्गा नापजाँच कार्यलाई तीब्र पारेको छ । भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोवासीलाई जमिनको मालिक बनाउन जग्गा नापजाँचलाई तीब्रता दिइएको कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले जानकारी दिए ।

मंगलवारदेखि कोहलपुर नगरपालिका वडा नम्बर–१२ मा पनि ऐलानी जग्गा नापजाँच सुरु भएको छ । अव्यवस्थितमा फारम भरेका र बाँकी खाली रहेको ऐलानी जमिन नापजाँच गरिने वडा अध्यक्ष वीरेन्द्र बहादुर शाहले जानकारी दिए । वडा नम्बर १२ मा भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित १ हजार ६८० कित्ता रहेको शाहले बताए ।

यसअघि लुटबहादुर रावत नगर प्रमुख हुँदा वडा नम्बर–१ मा मात्रै ऐलानी जग्गा नापजाँच पूरा भएको थियो । वडा नम्बर–१ मा एक हजार ५६६ कित्ता नापजाँच भएको थियो । यस्तै वडा नम्बर–२ मा मुक्तिनगर, शक्तिनगर र बिकास नगरको १ हजार ७३० कित्ता नापजाँच भएको थियो । नगर प्रमुखमा आचार्य नेतृत्वको जनप्रतिनिधि आएपछि भने कोहलपुरमा ऐलानी जग्गा नापजाँच कार्यलाई तीब्र पारेको हो । वडा नम्बर–२ मा मात्रै अहिले एक हजार ८४९ कित्ता जग्गा नापजाँच सम्पन्न भैसकेको छ ।

वडा नम्बर–२ मा ऐलानी जग्गा नापजाँचको काम मंगलवार पूरा भएको वडा अध्यक्ष हरिसिंह कठायतले जानकारी दिए ।


हामी निर्वाचित भएर आएपछि नै भूमिहीन, दलित र सुकुमबासीलाई जग्गाको स्वामित्व दिने गरि ऐलानी जग्गा नापजाँच कार्यलाई तीब्र पार्ने योजनामा थियौं नगर प्रमुख आचार्यले भने–बर्खायाम, त्यसपछि निर्वाचन आचारसंहिता लगतै दसैं तिहार जस्ता चाडबाडका कारण रोकिएको थियो । अब यो काम द्रुतगतिमा अघि बढ्छ । अबको २÷३ महिनामा नापजाँचको काम सक्ने गरि आफुहरु लागेको नगर प्रमुख आचार्यको भनाइ छ ।

यस्तै नगर उपप्रमुख संगिता सुवेदीले अब कोहलपुर नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी र जमिन भएर पनि स्वामित्व नभएका अव्यवस्थित बसोवासी नागरिक जमिनका मालिक बन्ने बताइन् । ‘चुनावका वेला जनतासँग लालपुर्जा वितरण गर्ने वाचा थियो,’ उनले भनिन्, ‘त्यही वाचाअनुरूप हामी निरन्तर जनताको काममा जुटेका छौँ ।’

कोहलपुर नगरपालिका भुमि सहजीकरण समितिका संयोजक समेत रहेका वडा नम्बर–१२ का वडा अध्यक्ष शाहले ऐलानी जग्गा नापजाँचमा २१ जनाको अमिन टोलि खटिएको जानकारी दिए । उनका अनुसार कोहलपुर नगरपालिकाबाट ९ जना, भुमि आयोगबाट ६ जना र जिल्ला नापी कार्यालयबाट टोलि प्रमुखसहित ६ जना गरी २१ जना अमिनको टोलि खटिएको हो । उनले तत्काल वडा नम्बर १० मा पनि ऐलानी जमिन नापजाँच सुरु हुने बताए ।

‘जमिन भएका, तर वर्षौँदेखि लालपुर्जाविहीन अव्यवस्थित बसोवासीलाई जमिनको मालिक बनाउँछौँ । भूमिहीन दलित र सुकुमबासीलाई समेत जमिन धनी बनाउँछौँ’ उनले भने । कोहलपुर नगरपालिकामा यसअघि भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोवासी करिब १७ हजार छ्न् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी प्रदेश सरकारले अझै पाउन सकेन पूर्णता

२४ माघ २०७९, मंगलवार १३:५६
नेपालगञ्ज : लुम्बिनी प्रदेश सरकार गठन भएको करिब एक महिना पुग्न लाग्दा पनि सरकारले अझै पूर्णता पाउन सकेको छैन । पुस २८ गते शपथ लिएसँगै मुख्यमन्त्री लीला गिरीले सोही दिन तीन सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए । मन्त्री बनेका अन्य दुईजना पनि बिना विभागीय रहेका छन् । नेकपा एमालेबाट चेतनारायण […]