भारतबाट नेपाली आउने क्रम रोकिएन

२५ बैशाख २०७७, बिहीबार १८:४२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि नेपाल भारत सीमा नाकामा सुरक्षा सतर्कतासँगै लकडाउन गरिएको डेढ महिना पुगेपनि भारतका विभिन्न स्थानबाट नेपाल आउने क्रम रोकिएको छैन ।
कोभिड–१९ को संक्रमण भित्रिन र फैलिन नदिन गरिएको प्रयासका वावजुद पनि भारतमा काम गरिरहेका नेपालीहरु आफनो घर पुुग्न अनेकन कष्ट झेलेर सीमा सम्म आइरहेका छन् । लक्षणसमेत नदेखिने कोरोनाको संक्रमण नेपालगञ्जमा देखिइरहेका बेला बुधवार मात्र २२ जनाले विभिन्न नाकाबाट नेपाल प्रवेश गर्ने प्रयास गरेको पाइएको छ । नेपालगञ्जमा शुक्रवार एक जना ६० वर्षीय पुुरुषमा कोरोना पोजेटिभ देखिएपछि सन्त्रास कायमै रहेका बेला भारतबाट नेपालीहरु सीमा नाकामा पुगेका छन् ।
यसअघि भारतबाट आइसकेकाहरुको व्यवस्थापन गर्न असहज भइरहेका बेला वैशाख २४ गते रुपईडिहामा १३ जना पुगेका थिए भने नरैनापुर गाउँपालिका ३ रोशनपुर्वाबाट ९ जना नेपालीहरु प्रवेश गर्न खोजेपछि दिनभर दशगजामै रोकिएका थिए ।
स्थानीय प्रशासनले सीमाबाट कसैलाई पनि नेपाल प्रवेश गराउन नसकिने जनाएपछि सम्वाद सहयोगी समूह नरैनापर र वडा कार्यालयको प्रयासमा सम्वन्धित व्यक्तिहरुलाई खाजा नास्ता खुवाउने र पुनः भारतर्फको क्वारेन्टाइमै राख्ने पहल गरेको थियो ।
दुवै देशको सहमती र संक्रमणको सम्भावनालाई दृष्टिगत गर्दै उनीहरुलाई सम्झाई बुझाई भारततर्फको क्वारेन्टाइनमा राखिएको सम्वाद सहयोगी समूह नरैनापुरका सदस्य अजयकुमार मिश्रले जानकारी दिए । भारतको श्रावस्ती जिल्लास्थित रोशनगढ रोशनपुर्वा विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा उनीहरुलाई राखिएको छ ।
यस्तै रुपईडिहामा पुगेका १३ जनालाई बाबागञ्जस्थित हाजी मो. युसुफ डिग्री कलेजको क्वारेन्टाइनमा राखिएको रुपईडिहास्थित पत्रकार सन्तोष शुक्लाले जानकारी दिए ।

Next Post

निषेधाज्ञा शिल गरिएको ठाउँमा मात्र, लकडाउन कडाई हुने हेर्नुहोस विज्ञप्ती 

२५ बैशाख २०७७, बिहीबार १८:४२
सदरलाइनडटकम, नेपालगञ्ज :  बाँके प्रशासनले गत मंगलबार बिहान ११ बजेदेखि लगाएको निशेधाज्ञा बिहीबार राती १२ बजेदेखि सकिने र अब शिल गरिएको स्थानमा मात्र निशेधज्ञा लागू हुनेछ । यद्यपी सरकारले लागु गरेको लकडाउनमा भने थप कडाई गर्ने तयारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा बिहीबार भएको सर्वदलीय, सर्वपक्षीय बैठकले अत्यावश्यकीय […]