२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

प्रवेश परीक्षा लिएर विद्यार्थी भर्ना लिदै नेपालगञ्जको धम्बोझी मावि



नेपालगञ्ज : सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्केको जनगुनासो बढेको बेलामा बाँकेको नेपालगञ्ज–१ मा सञ्चालनमा रहेको एक सामुदायिक विद्यालयले नयाँ शैक्षिक शत्रमा विद्यार्थी भर्नाका लागि प्रवेश परिक्षा लिएर भर्ना सुरु गरेको छ ।

धम्बोझी माध्यामिक विद्यालय नेपालगञ्जमा विद्यार्थीको अधिक चापका कारण विद्यार्थी भर्नामा प्रवेश परिक्षा लिने गरेको विद्यालयका प्रधानाध्यापक बामदेव सुवेदीले जानकारी दिए ।

विद्यालय प्रशासनले जनाए अनुसार प्रविधिक धारको कक्षा ९–१२ को कम्प्युटर ईन्जिनियरिङ्ग कक्षा समेत सञ्चालन गर्दै आएको धम्बोझी माविले शिशु कक्षादेखि १० सम्म विद्यार्थी भर्नाको लागि प्रवेश परिक्षा लिने गरेको हो । विद्यालयले गत बैशाख १६ गते नयाँ शैक्षिक शत्रका लागि प्रवेश परिक्षा लिएको हो ।

सामुदायिक विद्यालयमा देशभरी कै ९औ स्थानमा पर्न सफल नेपालगञ्जको धम्बोझी माविले सिमित दरबन्दी, कक्षाकोठा र भौतिक पूर्वाधारको कमिका कारण सामुदायिक विद्यालय भए पनि भर्ना हुन आउने सबै विद्यार्थीलाई सिधै भर्ना लिन नसकिएको विद्यालयका प्रधनाध्यापक सुवेदीले जानकारी दिए ।

उनले भने–‘ सामुदायिक विद्यालय हो सबैले अध्ययन गर्न पाउनु पर्छ तर, कक्षा कोठा, शिक्षक दरबन्दी नहुँदा विद्यालयमा भर्ना हुन आउने सबैलाई सिधै भर्ना गर्न सकिने अवस्था नभएपछि नयाँ शैक्षिक शत्रका लागि प्रवेश परिक्षा लिएरमात्र विद्यालयमा भर्ना गर्न विगतका केही वर्षयतादेखि सुरु गरेका हौ ।’

उनले नयाँ शैक्षिक शत्रका लागि भएको प्रवेश परिक्षामा प्राविधिक धारको ईञ्जिनियरिङ्ग समेतका लागि ४ सय ७ जनाले प्रवेश परिक्षा दिएकोमा २ सय ९८ जनाले मात्र प्रवेश परिक्षा उतिर्ण गरेको बताए । ४८ सिटका ईञ्जिनियरिङ्गका लागि ५२ जनाले प्रवेश परिक्षा दिए पनि ४० जनाले मात्र उतिर्ण गरेकोले ८ सिटको लागि विद्यालय पुन प्रवेश परिक्षाका लागि सूचना निकालेको छ ।

विद्यालयमा पढाई राम्रो हुने र यसको नतिजा समेत उत्कृष्ठ भएकोले आफुहरुको रोजाईमा धम्बोझी मावि परेको अभिभावकको प्रतिक्रिया रहेको छ । हुम्लाबाट नेपालगञ्ज अस्थायी बासोबास गर्न आएका अभिभावक भन्छन–‘ अनेत्र भन्दा शैक्षिक अवस्था धम्बोझीको राम्रो लागेर भाईलाई प्रवेश परिक्षामा सहभागि गराएको हुँ ।’

प्राविधिक धारको कम्प्युटर ईञ्जिनियरिङ्ग सञ्चालन गरेको विद्यालयले प्राविधिक धारको ४८ सिटका लागि प्रवेश परीक्षा सञ्चालन गरेर विद्यार्थी भर्ना गर ेपनि विद्यालयमा विद्यार्थीको चाप अत्याधिक बढेपछि भर्ना लिनको लागि प्रवेश परिक्षा लिएर मात्र भर्ना लिने रणनीति बनाईएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलाराज उपाध्यायले जानकारी दिए ।

उनले विद्यालयको भौतिक संरचना खासगरी कक्षा कोठाको अभावको कारण सबै विद्यार्थीलाई भर्नालिन असहज भएको बताए । नेपालगञ्जको धम्बोझीमा रहेको धम्बोझी माविमा बालविकास केन्द्रदेखि १२ सम्म ३ हजार विद्यार्थी चालु शैक्षिक शत्रका लागि भर्ना हुने गरेका छन् ।

नेपालगञ्ज उपमहानगरका सबै सामुदायिक विद्यालयहरु भन्दा धम्बोझी माविमा विद्यार्थीको चाप अधिक भएकोले विद्यालय दुई सिफ्टमा सञ्चालन गर्नु परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उपाध्याय बताउछन । उनले विद्यालयको शिक्षक दरबन्दी, कक्षा कोठा र फर्निचर थपहुन सके थपविद्यार्थी भर्ना लिन सकिने बताए ।

प्रकाशित मिति : २०८१ वैशाख १८ गते मंगलबार
ताजा समाचार