चौध सय घरेलु तथा साना उद्योग बन्द

सदरलाइन संवाददाता २८ फाल्गुन २०८०, सोमबार १३:२६
 

दाङ : दाङमा बर्षेनी घरेलु तथा साना उद्योग बन्द हुने क्रम बढ्दै गएको छ । घरेलु तथा साना उद्योग कार्यालय दाङमा दर्ता भएका घरेलु तथा साना उद्योग पछिल्लो साढे पाँच वर्षमा एक हजार ३९२ वटा बन्द भएका छन् ।

जसमध्ये चालु आर्थिक वर्षको सात महिनामा ३७४ वटा साना उद्योगको लगत कट्टा गरिएको छ । चालु आवको साउनदेखि माघ मसान्तसम्म उद्योग तथा वाणिज्यतर्फको निजी फर्म र सामुदायिक फर्म गरी ३७४ वटाको लगत कट्टा भएको घरेलु तथा साना उद्योग कार्यालय दाङका कार्यालयका प्रमुख युवराज न्यौपानेले जानकारी दिए ।

उनका अनुसार यो वर्षको साउनमा दुवै फर्म गरेर २५ वटा, भदौमा २८ वटा, असोजमा ३४ वटा, कात्तिकमा १६ वटा, मङ्सिरमा २५ वटा, पुसमा १३ वटा र माघमा २५ वटा साना उद्योगको लगत कट्टा भएको छ । कार्यालयको तथ्याङ्क अनुसार आव २०७५/७६ मा १५६ उद्योगको लगत कट्टा भएको थियो । आव २०७६/७७ मा १३९ उद्योगको लगत कट्टा भएको देखिन्छ । आव २०७७/७८ मा २०७ वटा उद्योगको लगत कट्टा भएका छन् ।


आव २०७८/७९ मा २१८ उद्योगको लगत कट्टा भएको थियो । आव २०७९/८० मा २९८ घरेलु तथा साना उद्योग बन्द भएको कार्यालयमा रेकर्ड छ । बन्द हुनेमा उत्पादनमूलक उद्योग, पर्यटन उद्योग र सेवामूलक उद्योग रहेको कार्यालय प्रमुख न्यौपानेले जानकारी दिए । साढे पाँच वर्षमा सात हजार २८४ वटा घरेलु तथा साना उद्योग दर्ता भएको कार्यालयको तथ्याङ्क छ ।

त्यसै गरी चालु आवको माघ मसान्तसम्म ७३४ वटा घरेलु तथा साना उद्योग दर्ता भएका छन् । बर्षेनी भइरहेको नयाँ दर्ता र लगत कट्टाको अवस्था हेर्दा घरेलु तथा साना उद्योग ओरालो यात्रामा रहेको देखिएको छ । उनले भने, “जिल्लामा नयाँ उद्योग दर्ता गर्नेको सङ्ख्यामा कमी आएको छ । जिल्लामा नयाँ उद्योग दर्ता गर्नेमा खासै उत्साह देखिएको छैन, आर्थिक मन्दीका कारण पनि होला ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा अवैध १ करोड बरामद, ५ जना पक्राउ

२८ फाल्गुन २०८०, सोमबार १३:२६
नेपालगञ्ज : बांके प्रहरीले सोमबार पनि नेपालगञ्जबाट अर्को हुण्डी कारोबारी अड्डामा छापा मारेर करिब १ करोड फेला पारेको छ । आईतबार हुण्डी कारोबारीको अड्डा नजिकैबाट ३ जना ब्यक्तिसहित ३९ लाख २० हजार रुपैयाँ पक्राउ गरेकोमा सोमबार नेपालगञ्ज उप–महानगरपालिका वाड नम्बर ४ बस पार्क र पुष्पलाल चौक नजिक रहेको २ वटा […]