यमपञ्चक शुरु, कागतिहार भने शुक्रवार

सदरलाइन संवाददाता २७ कार्तिक २०७७, बिहीबार ०८:५१
 

नेपालगञ्ज : कात्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार बिहीवारदेखि शुरु हुँदैछ ।

बिहीवार बेलुकी यमदीपदान शुरु गर्नुपर्ने छ । यस वर्ष यमदीपदान बिहीवारदेखि शुरु हुने भएपनि काग तिहार कात्तिक २८ गते शुक्रवार परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । यस अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । यसैगरी धन्वन्तरी जयन्ती र धनतेरस पर्व पनि शुक्रवारनै परेको छ ।

तिथिको घटबढका कारण यस्तो भएको समितिले जनाएको छ । यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने उनले बताए ।

कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ । कात्तिक २९ गते शनिवार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा गर्नुपर्छ । अपराह्न १ः४९ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि औंसी तिथि लाग्ने भएकाले शास्त्रसम्मत रुपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले बताए ।

गाई, गोरु र आत्म (म्ह) पूजा कात्तिक ३० गते आइतवार गर्नुपर्ने शास्त्रीय वचन छ । आइतवार बिहान ११ः२७ बजेसम्म औँशी तिथि छ । त्यसपछि कात्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले म्हपूजा यसै दिन गर्नुपर्ने हुन्छ ।
मङ्सिर १ गते सोमवार तिहारको मुख्य दिन भाइटीका पर्व मनाइन्छ । बिहान ११ः३७ बजे भाइटीकाको साइत उत्तम रहेको अध्यक्ष गौतमले बताए ।


मङ्सिर १ गते सोमबार मह्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत नै हुन्छ ।

मङ्सिर १ गते भाइटीकाकै दिन यस वर्ष नेपाल संवतको नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको उनले जानकारी दिए । यसै दिनदेखि नेपाल संवत् ११४१ शुरु हुन्छ ।

मङ्सिर महिनामा भाइटीका परेकाले दाइलाई टीका लगाउनुहुन्न भनी केही मानिसले चर्चा गरे पनि त्यो शास्त्रसम्मत नरहेको समितिले जनाएको छ । शास्त्रीय ग्रन्थमा भातृपूजा भन्ने शब्द उल्लेख गरिएको र त्यसले दाजुभाइ दुवैलाई बुझाउने अध्यक्ष गौतमको भनाइ छ ।

भाइटीका भनिए पनि ज्येष्ठताको क्रमानुसारनै टीकाटाला गर्नु शास्त्रसम्मत हुने समितिले जनाएको छ । झिलीमिली उज्यालोको चाड तिहारका अवसरमा एक हप्ताअघिदेखिनै राजधानीलगायत प्रमुख शहरमा थरिथरिका बत्ती बाल्न शुरु भइसकेको छ ।

Next Post

कोरोना संक्रमणबाट बाँकेमा थप एक महिलाको मृत्यु

२७ कार्तिक २०७७, बिहीबार ०८:५१
नेपालगञ्ज : कोरोना संक्रमणका कारण बाँकेमा थप एक महिलाको मृत्यु भएको छ । कोरोना संक्रमित भई नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा कोहलपुर नगरपालिका वडा नम्बर १ कौशिलानगरकी ३२ वर्षीया एक महिलाको मृत्यु भएको हो । स्वासप्रस्वासमा समस्या देखिएपछि उनि कात्तिक २५ गते अस्पताल भर्ना भएकी थिइन् । […]