नेपालगञ्ज भन्सारमा आठ महिनामा ६२ प्रतिशत राजस्व संकलन

सदरलाइन संवाददाता २३ फाल्गुन २०८०, बुधबार १७:२२
 

नेपालगञ्ज : नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०/०८१ को आठ महिनामा लक्ष्यको करिब ६२ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

केही वर्ष पहिलेसम्म लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्दैआएको पश्चिम नेपालका प्रमुख भन्सार नेपालगन्जले गत केही वर्षदेखि लक्ष्य पुगाउन सकिरहेको छैन । चालु आर्थिक वर्ष २०८०÷०८१ को माघ मसान्तसम्म १६ अर्ब २७ करोड ३० लाख ६४ हजार रुपैयाँ राजस्व सङ्कलन लक्ष्य निर्धारण गरिएको थियो ।

सो अवधिमा १० अर्ब ६२ लाख पाँच हजार रुपैयाँ राजस्व सङ्कलन गर्न सकेको नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिए । उनले लक्ष्यभन्दा ६ अर्ब कम राजस्व सङ्कलन भएको जनाउँदै राजस्व सङ्कलनमा लक्ष्य भेटाउन चुनौती देखिएको बताए ।

सूचना अधिकारी लम्सालका अनुसार गत आर्थिक वर्ष २०७९/०८० को साउनदेखि माघ मसान्तसम्म १६ अर्ब ४१ करोड ९२ लाख ४५ हजार राजस्व सङ्कलन लक्ष्य रहेकोमा १० अर्ब १ करोड ५३ लाख २१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।


चलु आर्थिक वर्षको आठ महिनामध्ये सबैभन्दा बढी मङ्सिर महिनामा १ अर्ब ५५ करोड ८९ लाख ९९ हजार रुपैयाँ राजस्व सङ्कलन भएको र सबैभन्दा कम कात्तिक महिनामा १ अर्ब २४ करोड २१ लख ५० हजार रुपैयाँ राजस्व सङ्कलन भएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

सो कार्यालयका अनुसार चालु आर्थिक वर्षको हालसम्म सबैभन्दा बढी आयात हुने वस्तुहरूमा डिजेल, पेट्रोल, एलपी ग्यास, चामल, फलाम, फलफूल, मकै, आलु, गहुँ, भटमासको पिना, स्टिल रहेका छन् भने सबैभन्दा बढी निर्यात भएका बस्तुहरूमा जडीबुटी, प्लाइउड, खयर कत्था, रोजिन, अदुवा, तार्पिनको तेल, दालचिनी, चोकर भुस, नौनी घ्यु, रिठ्ठालगायत छन् ।

कोरोना शुरु भएयता यो नाकाबाट लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न नसकेको भन्सार कार्यालयले जनाएको छ । (गोरखापत्रबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्मचारी कुट्नेलाई कारबाही नगरिएको भन्दै ध्यानाकर्षण

२३ फाल्गुन २०८०, बुधबार १७:२२
नेपालगञ्ज : कर्मचारीमाथि कुटपिट गर्नेलाई प्रहरी प्रशासनले कार्वाही गर्न तदारुकता नदेखाएको भन्दै नेपालगञ्ज उपमहानगरपालिकाका कर्मचारीले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । कर्मचारीहरुले प्रेस विज्ञप्ती जारी गर्दै प्रहरी प्रशासनको ध्यानाकर्षण गराएका हुन् । दोषीमाथि आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दर्ता गरिएकोमा हालसम्म पनि कुनै कारबाही नभएको भन्दै कर्मचारीहरुले […]