नेपालगञ्ज : सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको आरोपमा रवि लामिछानेविरूद्ध ३ करोड ३७ लाखको बिगो मागदाबी सहित कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
सरकारी वकिलको कार्यालय कास्कीले आइतबार जिल्ला अदालत कास्कीमा दर्ता गरेको अभियोगपत्रमा लामिछानेले सहकारीको ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ अपचलन गरेको उल्लेख गरेको छ ।
स्रोत नखुलेको रकम असुल गर्नका लागि रवि लामिछानेसँगै उनकी श्रीमती निकिता पौडेल, लिला पछाई, उनकी आमा राधा पछाई, दिदी गिता पछाई, पूर्व डिआइजी छविलाल जोशी, उनकी श्रीमती पद्मा जोशी बन्जाडे र छोरा रोचक जोशीको पनि सम्पत्ति जफत गर्न माग भएको छ ।
यसैविच, लामिछानेको प्रतिनिधि सभा सांसद पद स्वत निलम्बनमा परेको छ । लामिछानेविरूद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दर्ता भएको संगै उनको संसद पद निलम्बनमा परेको हो ।
सम्पत्ति शुद्धीकरण ऐन २०६४ को दफा २७ अनुसार मुद्दा दर्तापछि पद स्वत निलम्बन हुने व्यवस्था छ । त्यसमा भनिएको छ, ‘प्रचलित कानुनबमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐनबमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधि भर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वत निलम्बन भएको मानिनेछ ।’
लामिछानेसँग सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमा गरी कूल ३० करोड ७१ लाखभन्दा बढी बिगो दाबी भएको छ । गत कात्तिक २ गते पक्राउ परेका लामिछानेविरूद्ध आइतबार अदालतमा मुद्दा दर्ता भएको हो । फाईल फोटो