नेपालगञ्ज नाकाबाट जडीबुटी निकासीमा छत्तिस प्रतिशतले वृद्धि

सदरलाइन संवाददाता २ फाल्गुन २०८०, बुधबार १४:३२
 

नेपालगञ्ज : पश्चिम नेपालको सबैभन्दा ठुलो नाकाका रूपमा रहेको नेपालगञ्ज नाकाबाट गत केही वर्षदेखि घट्दै गएको जडीबुटी निकासी चालु आर्थिक वर्ष २०८०/८१ को छ महिनामा उल्लेख्य रूपमा वृद्धि भएको छ ।

नेपालगञ्ज भन्सार कार्यालयले दिएको जानकारी अनुसार गत आव २०७९/८० को छ महिनाको तुलनामा चालु आवको ६ महिनामा जडीबुटी निकासी ३६ प्रतिशतभन्दा बढीले वृद्धि भएको हो ।

नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले दिएको जानकारी अनुसार गत आव २०७९/८० को छ महिना महिनामा यो नाकाबाट २५ करोड ५२ लाख ९७ हजार रुपियाँको जडीबुटी निकासी भएकोमा चालु आव २०८०/८१ को साउनदेखि पुस महिनासम्म ६ महिनाको अवधिमा ३४ करोड ८९ लाख ३६ हजार रुपैयाँको जडीबुटी निकासी भएको छ ।

उनले भने, “चालु आवको छ महिनामा नौ करोड ३६ लाख ३८ हजार रुपैयाँभन्दा बढीको जडीबुटी निकासी भएको छ । गत आवको सुरुको छ महिनाभन्दा चालु आवको सुरुको छ महिनामा ३६.३८ प्रतिशतले जडीबुटी निकासी वृद्धि भएको हो ।” उनले विगत धेरै वर्षदेखि घट्दै गएको जडीबुटी निकासी यस पटक वृद्धि भएको बताए ।


उता जडीबुटी व्यवसायीको सङ्गठन नेपाल जडीबुटी व्यवसायी सङ्घको नेपालगञ्जस्थित केन्द्रीय कार्यालयले पनि जडीबुटी निकासीमा सहज भएपछि निकासी वृद्धि हुन थालेको जनाउँदै अझै केही विषयमा सहजता हुन बाँकी रहेको जनाएको छ ।

नेपाल जडीबुटी व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष टङ्कप्रसाद शर्माले भारतले विगत धेरै वर्षसम्म ट्रान्जिट परमिटको नाममा जडीबुटी निकासीमा अवरोध गर्दै आएकोमा व्यवसायीले गरेको लामो सङ्घर्ष, मुद्दा मामिला र विरोधपछि त्यो समस्या समाधान भएकाले निकासी वृद्धि हुन थालेको बताए ।

उनले अझै पनि जटामासी मार्क, अमला, सिकाकाईलगायत नेपालका मुख्य १२ वटा जडीबुटीलाई भारतको प्लान्ट क्वारेन्टाइनको सूचीमा सूचीकृत नगरिएकाले ती जडीबुटी निकासी गर्न नसकिएको बताए ।

भारतीय प्लान्ट क्वारेन्टाइनमा सूचीकृत नभएका १२ वटा जडीबुटी सूचीकृत गरिएलगत्तै नेपालगञ्ज नाकाबाट जडीबुटी निकासी ठुलो परिमाणमा बढ्दै जाने सङ्घका अध्यक्ष शर्माले बताए । जडीबुटी निकासीसँगै राजस्व सङ्कलन पनि बढेको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सार्वजनिक शौचालय व्यवस्थित गर्नेबारे छलफल

२ फाल्गुन २०८०, बुधबार १४:३२
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाभित्रका सार्वजनिक शौचालयलाई ब्यवस्थित तरिकाले सञ्चालन गर्न छलफल गरिएको छ । एसएनभी नेपालको आयोजनामा नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुसंग सार्वजनिक शौचालयलाई ब्यवस्थित तरिकाले सञ्चालन गर्न छलफल गरिएको हो । सार्वजनिक शौचालयको प्रयोगलाई व्यवस्थित बनाउँदै सरसफाई, मर्मत–सम्भार लगायतका विषयमा ध्यान दिन आवश्यक रहेको सरोकारवालाको भनाई छ । आकर्षक […]