धार्मिक पर्यटकको गन्तव्य बन्दै ‘पन्नहवादेवी मन्दिर’

सदरलाइन संवाददाता २७ माघ २०८०, शनिबार १७:४१
 

नेपालगञ्ज : बाँकेको नरैनापुर गाउँपालिका –१ मा पर्ने कटकुइँया नजिक रहेको ‘पन्नहवादेवी समय माता मन्दिर’ले प्रचुर मात्रामा धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको छ ।

नरैनापुरको कटकुइँयादेखि तीन किलोमिटर उत्तरतर्फ जङ्गलबिचमा रहेको सो मन्दिरलाई व्यापक प्रचारप्रसार र विकास गर्न सके जिल्लाकै धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउन सकिने स्थानीयको विश्वास छ ।

नरैनापुर –१ का वडाध्यक्ष इशाक जोलाहले हिन्दु र मुश्लिम दुवै आस्था राख्ने धर्मावलम्बीले सो मन्दिरमा पूजाआजा गर्दैआएको बताए । उनले सो मन्दिरमा गएर पूजाआजा गरी वर माग्नेहरुको मनले चिताएको पुग्ने जनविश्वासका कारण यसको गरिमा र महत्व अझै बढ्दै गएको बताए ।

‘धार्मिक तथा पर्यटकीय हिसाबले यो अति महत्वपूर्ण छ, तर यसलाई विकास गर्न कहिँ कतैबाट पनि सहयोग छैन, प्रचारप्रसारको कमी हुँदा यो मन्दिर ओझेलमा परेको छ’ उनले भने ।

मन्दिरका पुजारी मनोजकुमार बाहुनले मन्दिरमा हरितालिका तीज, चैतेदसैं, नवमी, शिवरात्रि, असार तथा असोज पूर्णिमा विशेष मेला लाग्नेगरेको बताए । उनले मेला हेर्न भारतका विभिन्न स्थान र जिल्लाका हजारौं भक्तजन तीर्थालुहरु आउनेगरेको बताए ।

उनका अनुसार मन्दिरमा बलि चढाइँदैन । फलफूल, मिठाइ, चुनरी तथा नरिवलहरु मात्र देवीकहाँ चढाइने प्रचलन रहेको उनले जानकारी दिए । करिब ९ विघा क्षेत्रफलमा फैलिएको जङ्गलबिचमा रहेको सो मन्दिरमा विभिन्न आकर्षक मूर्तिहरु छन् । विभिन्न देवीदेउता, ऋषिमुनि, जङ्गली जनावरलगायतका २९ वटा विभिन्न मूर्तिले मन्दिर क्षेत्रलाई झन आकर्षक र सुन्दर बनाएको छ । स्वर्गीय राजा वीरेन्द्रको घोडचढी मूर्ति पनि त्यहाँ बनाइएको छ ।

त्यहाँ रहेका आकर्षक मूर्तिहरु त्यहिँका स्थानीय टमाटर बाबा भन्ने फरहारी बाबाले बनाएको मन्दिर व्यवस्थापन समितिका सचिव अर्जुनप्रसाद यादवले बताए । उनका अनुसार टमाटर बाबाले मन्दिर परिसरमै हातैबाट सबै मूर्तिहरु बनाएका हुन् । उनले आफ्नोसमेत मूर्ति बनाएर त्यहाँ राखेका छन् ।


मन्दिर कहिलेदेखि थियो भन्ने कुरा कसैलाई थाहा छैन । बाजेको पनि बाजेका पालादेखि त्यहाँ गएर पूजा गर्दैआएको बताउँछन् स्थानीय ८० वर्षीय ठाकुर अहिर । ‘हामी सानो हुँदा बाजेले हामीलाई पूजा गर्न मन्दिरमा लानुहुन्थ्यो, बाजेले पनि आफ्नो बाजेको पालादेखि नै पूजा गर्दैआएको बताउनुहुन्थ्यो, तर कहिलेदेखि त्यहाँ पूजा गर्न थालेको भन्ने यकिन छैन, तर परापूर्वकालदेखि नै हो’ उनले भने ।

स्थानीय ४५ वर्षीय जाकिर हुसेन साइले आफू मुश्लिम भएपनि बर्षौदेखि यहाँ आएर मन्नत माग्ने गरेको बताए । उनले हिन्दु दाजुभाइसँग हरेक चाडवाडमा यहाँ आएर मन्नत माग्ने र मनले मागेको पुग्नेगरेको बताए । ‘यो स्थान हिन्दु तथा मुस्लिम सबैका लागि बराबर छ, यहाँ भेदभाव हुँदैन । हामीहरुले आ–आफ्नो तरिकाले पूजाआजा गर्दछौं’ जाकिरले भने ।

मन्दिर व्यवस्थापन समितिका सचिव अर्जुनप्रसाद यादवले ऐतिहासिक पृष्ठभूमि बोकेको मन्दिर भएपनि हाल आएर मात्र बल्ल यसको विकास तथा प्रवर्द्धन गर्न लागिएको बताए । ‘हामीले बल्ल यस क्षेत्रको महत्व बुझ्दैछौं, यसलाई व्यवस्थित रुपले अगाडि बढाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा व्यापक प्रचारप्रसार गरी चिनाउन सके यहाँको आर्थिक उन्नति पनि हुने देखियो’ यादवले भने ।

शुक्रवार उक्त मन्दिर क्षेत्र अवलोकन गर्न पुगेकी लुम्बिनी प्रदेशकी शहरी विकासमन्त्री कृष्णा केसी ‘नमुना’ले मन्दिर क्षेत्रलाई विकास गर्न सरकारबाट आवश्यक पहल गर्ने बताइन् । स्थानीयले मन्त्री केसीसमक्ष त्यहाँसम्म पुग्ने बाटो, विद्युत्, पानी, धर्मशाला तथा मन्दिर क्षेत्रलाई तारबार गरिदिन माग गरेका थिए ।

मन्त्री केसीले आफूले यस क्षेत्रलाई अगाडि बढाउनका लागि आउने बजेटमा पार्न पहल गर्ने बताइन् । उनले आफ्नो निर्वाचन क्षेत्र पनि भएका कारण विशेष ध्यान दिने बताइन् ।

मन्त्री केसीले जिल्लाका विभिन्न धार्मिक आस्थाका मठमन्दिरलाई धार्मिक सर्किटको रुपमा विकास गर्न सके आर्थिक टेवा पुग्नुका साथै सामाजिक सांस्कृतिक महत्व पनि बढ्ने बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डुडुवामा सरसफाई अभियान शुरु

२७ माघ २०८०, शनिबार १७:४१
डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिकाले सरसफाई अभियान सञ्चालन गरेको छ । गाउँपालिकाले प्रत्येक शुक्रबारका दिन सबै कार्यालयको सरसफाई गर्ने अभियान शुरु गरेको हो । पालिका माताहतका वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय लगायतका सबै कार्यालयहरुहरुमा सरसफाई गर्न सुरु गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । उनका अनुसार हप्ताको एकदिन कार्यालयको […]

सम्बन्धित