२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

हर्साेल्लासका साथ माघी सम्पन्न



नेपालगञ्ज : बाँकेका हरेक थारु बस्तीमा धूमधामका साथ माघी मनाइएको छ । गरिब, मध्यम, धनी जस्तोसुकै वर्ग भए पनि तराईका थारुहरू माघी पर्वलाई भव्य रूपमा मनाउँछन् ।

माघ १ गते थारु जातिको स्वतन्त्रताको दिन हो । त्यति मात्र होइन, यस दिनलाई उनीहरूले नयाँ वर्षको रूपमा मनाउने गर्दछन् । सधैँ खेतीपातीमा व्यस्त रहने हुनाले उनीहरूले वर्षमा एक दिन माघीलाई मुक्तिको दिनका रूपमा पनि मनाउँछन् ।

बाँके नौवस्ताका ६८ वर्षीय रामजनम थारुका अनुसार, यस पटक माघीलाई भव्य रूपमा मनाइएको बताए । उनले युवा युवतिले नाचेर गाएर मिठो परिकार खाएर माघी मनाएको बताए ।

थारुहरूले सामाजिक, आर्थिक र पारिवारिकलगायत धेरै किसिमका कामको बाँडफाँड योजना र नीति तय माघिकै दिन गरेको पनि रामजनमले बताए ।

उनका अनुसार घरमुलीको चयन, बसाइसराइको तय, आर्थिक पारदर्शिता, असमान व्यवहारको मूल्याङ्कन गरी घरमा कसको विवाह गर्ने कसको नगर्ने, छोराछोरीलाई पढाउने नपढाउने, घर छुट्टिने, जग्गा किनबेच गर्ने कि नगर्ने, जमिन्दारको जग्गा लगाउन छोड्ने वर्षभरिको सबै निर्णय माघीमै गरिएको छ ।

अर्का अगुवा मैटहवाका नरेश चौधरीले घरका सबै एकै ठाउँमा जम्मा भएर परिवारका सदस्यले घरमुलीसमक्ष आफ्नो प्रस्ताव राखिसकेपछि वर्षभरिको कामको निर्णय गरेपछि नाचगानसहित माघी मनाएको बताए ।

उनले मिठो खाएर, मघौटा नाच नाचेर माघी मनाएको बताए । थारु समुदायका महिला, पुरुषले आफ्नै संस्कृति झल्किने भेषभुषामा सजिएर जिल्लाका विभिन्न ठाउँमा माघी मनाएका छन् ।

टिटिहिरियाका राजु थारुले थारु संस्कारअनुसार, चामलको ढिक्री, घोङ्गी, सुँगुरको मासु, अनदीको जाँड र रोटी, तरुल, गन्जी, माछा माघीको दिनमा खाइने हुँदा सोही खाएको बताए ।

माघीका दिन महिलाले कपडामा संस्कृति झल्काउने गोन्या, चोल्या, लेहंगा, गट्या, अघरान, लगाएको र गहनाहरूमा चाँदी र प्राचीन मोरु पैसाबाट बनाइएका भिछ्या, पैरी, चुरीया, तरीया, मुन्द्री आदि लगाएको थारु अगुवाहरूले बताएका छन् ।

यसैगरी पुरुषहरूले पनि झुल्वा, भेग्वा, धोती आदि लगाएर दुनामा जाँड खाँदै महिला–पुरुष आपसमा रमाइलो गरेर नाचगान गरी माघी मनाएको रझेनाका अगुवा माइला थारुले बताए ।

प्रकाशित मिति : २०८० माघ ३ गते बुधबार
ताजा समाचार