नेपालगञ्ज नाकाबाट ८० करोडको आलु आयात

सदरलाइन संवाददाता २१ पुष २०८०, शनिबार १७:५१
 

नेपालगञ्ज : नेपालमै प्रशस्त उत्पादनको सम्भावना रहेको आलुको आयातमा पनि बर्षेनि करोडौँ रुपैयाँ भारत जाने गरेको पाइएको छ । नेपालगञ्ज नाकाबाट भारतबाट हुँदै आएको आलुको आयात करिब दोब्बर वृद्धि भएको छ ।

नेपालगञ्ज नाकाबाट मात्रै आर्थिक वर्ष २०८०/८१ को साउनदेखि मङ्सिर महिनासम्मको पाँच महिनामा ८० करोड रुपैयाँको आलु आयात भएको छ । गत आर्थिक वर्ष २०७९/८० मा सोही अवधीमा ४५ करोडको मात्र आलु आयात भएको थियो । यस पटक करिब दोब्बर बढी आलु आयात भएको हो ।

नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्माले दिनुभएको जानकारी अनुसार चालु आर्थिक वर्षको हालसम्मको पाँच महिनाको अवधीमा यो नाकाबाट ७९ करोड ६१ लाख ३० हजार रुपैयाँको तीन करोड ३८ हजार ३० किलो आलु आयात भएको छ ।

उहाँले गतवर्ष सोही पाँच महिनाको अवधीमा नेपालगञ्ज नाकाबाट ४५ करोड ७१ लाख ६६ हजार रुपैयाँको एक करोड ८२ लाख ७ हजार ५९९ किलो आलु आयात भएको बताए । आयात घटाउँदै लैजानुपर्नेमा यो वर्ष गत वर्षभन्दा करिब दोब्बर आलु आयात भएको तथ्याङ्कले पुष्टि गरेको छ ।

गत आर्थिक वर्ष २०७९/८० मा यो नाकाबाट ९३ करोड ६० लाख ६९ हजार मूल्य बराबरको तीन करोड ७५ लाख ८५ हजार ८८ किलो आलु आयात भएको थियो भने यस पटक पाँच महिनामै ८० करोडको आलु आयात भइसकेकाले चालु आर्थिक वर्ष भरिमा गत वर्षभन्दा धेरै बढी आयात हुने सम्भावना देखिएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।


आलु आयातबाट नेपालगञ्ज भन्सारले गत आर्थिक वर्ष २०७९/८० मा १४ करोड ७७ लाख २२ हजार रुपियाँ राजस्व सङ्कलन गरेको थियो भने चालु आर्थिक वर्षको पाँच महिनामै १९ करोड ७३ लाख २९ हजार रुपैयाँ राजस्व सङ्कलन गर्न सफल भएको सूचना अधिकारी शर्माले बताए ।

कृषि ज्ञान केन्द्र नेपालगञ्जका प्रमुख सकिल अहमद खाँले केही वर्ष यता बाँके, बर्दिया, दाङ र सल्यानलगायतका जिल्लामा आलु उत्पादन उल्लेखनीय मात्रामा हुँदै आए पनि अझै भारतकै आलुमा निर्भर रहनु दुःखद भएको बताए ।

उनले आलु र प्याजमा आत्मनिर्भर बन्न सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जनाउँदै अझै पनि यति ठुलो परिमाणमा आयात हुनुले चिन्ता बढाएको बताए ।

केही वर्ष पहिलेसम्म विभिन्न तरकारीमा भारतकै भर पर्नुपर्ने बाध्यता रहे पनि अहिले आएर आलु प्याज बाहेक अन्य अधिकांश तरकारी नेपालमै ठुलो परिमाणमा उत्पादन भइरहेकाले अन्य तरकारीमा समस्या नरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भ्यानको ठक्करबाट साइकल यात्रुको मृत्यु

२१ पुष २०८०, शनिबार १७:५१
नेपालगञ्ज : नेपालगञ्जबाट राजापुर तर्फ गइरहेको भे१ज १३३७ नम्बरको यात्रुवाहक भ्यानको ठक्करले एक साइकल यात्रुको मृत्यु भएपछि मधुवन नपा–३ ओरालीबजार तनाव भएको छ । कोठियाघाट राजापुर हुलाकी सडक खण्डको राजापुर नगरपालिका–१० खैरीचन्दनपुरमा उक्त भ्यानले ठक्कर दिँदा साइकल यात्रु मधुवन नपा–३ का ५४ वर्षीय नोके दमाईको मृत्यु भएको हो । प्रहरीले […]