भूकम्पबाट डोटीमा ६ जनाको मृत्यु, ५ जना घाइते

सदरलाइन संवाददाता २३ कार्तिक २०७९, बुधबार १२:३१
 

नेपालगञ्ज : डोटीमा भूकम्पले घर भत्काउँदा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ ।

मंगलबार मध्यराति गएको भूकम्पले घर भत्किँदा पूर्वी चौकी गाउँपालिका–३ को ठाडा गाउँका ६ जनाको मृत्यु भएको डोटीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक भोलाप्रसाद भट्टले बताए ।

डीएसपी भट्टका अनुसार ठाडा गाउँकी ३८ वर्षीया भगवती बोहरा, उनकी १३ वर्षीया छोरी सीता बोहरा र ७ वर्षीय छोरा हर्क बोहराको मृत्यु भएको छ ।

यस्तै सोही ठाउँका ४५ वर्षीय प्रेम बोहरा, उनकी १२ वर्षीया छोरी तुलसी बोहरा र राति बोहराकै घरमा सुतेकी स्थानीय महाविर बोहराकी १७ वर्षीया छोरी धनसरीको पनि घरमा पुरिएर मृत्यु भएको डीएसपी भट्टले बताए । उनीहरु ६ जनाकै शव निकालिएको प्रहरीले जनाएको छ ।


भूकम्पले सोही वडाका पाँच जना घाइते भएका छन् । घाइते हुनेमा ४५ वर्षीय महाविर बोहरा, ४० वर्षीय इन्नरी बोहरा, ४५ वर्षीया बिस्नादेवी बोहरा, ४६वर्षीय चनादेवी बोहरा र ११ वर्षीया धौली बोहरा छन् ।

उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक भट्टले जानकारी दिए । भूकम्पले ठाडागाउँका ८ वटा घर भत्काएको छ भने जिल्लाका अन्य स्थानमा पनि भौतिक क्षति भए पनि मानवीय क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।

मंगलवार साँझ ९ बजेर ७ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर ५ दशमलव ७ म्याग्नीच्यूडको भूकम्प गएको थियो भने मध्यराति २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज नै केन्द्रबिन्दु बनाएर ६ दशमलव ६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्युठानमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, १२ घाइते

२३ कार्तिक २०७९, बुधबार १२:३१
नेपालगञ्ज : प्युठानमा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । प्युठान नगरपालिका–५ पूर्णा गाउँ कुना पानीमा मंगलवार राती साढे १२ बजे लु १ ज ३७०७ नम्बरको जीप दुर्घटना हुँदा पूर्णा गाउँकी ५२ वर्षकी मैमा घर्ती, ४३ वर्षकी बच्ची थापा र ४६ […]