नेपालगञ्ज : पूर्व राजा वीरेन्द्रको शालिक राख्ने क्रममा प्रहरी र राप्रपाका कार्यकर्ताबीच झडप भएपछि नेपालगञ्जको धम्वोजी चोक तनाबग्रस्त भएको छ । झडपमा सुरक्षाकर्मी, राप्रपाका कार्यकर्ता र सर्वसाधरणसहित एक दर्जन घाइते भएका छन् । चार जना सुरक्षाकर्मी, अरु प्रदर्शनकारी र सर्वसाधारण घाइते भएका हुन् ।
राप्रपाका युवाले बिहीबार बिहान उक्त चोकमा स्वर्गीय राजा वीरेन्द्र शाहको शालिक राखेका थिए । त्यस लगत्तै प्रहरीले शालिक हटाएको थियो । स्थिति नियन्त्रण भन्दा बाहिर जाने अवस्था आएपछि प्रहरीले फायर खोलेको बताएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले राप्रपाका नेता कार्यकर्ताले वीरेन्द्र चोकमा शालिक राखेपछि त्यसलाई हटाउने क्रममा झडप भएको बताए ।
राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकोटाले आफूहरुले वीरेन्द्र चोकमा शालिक राखेको केही बेरमै प्रहरीले बल प्रयोग गर्दै हवाई फायर गरेर शालिक हटाएको बताए । शालिक राख्दैमा प्रहरी त्रसित हुनुपर्ने कारण नै नभएको देवकोटाले बताए ।
प्रहरीले राप्रपाका आधा दर्जन कार्यकर्तालाई नियन्त्रणमा समेत लिएको छ । आक्रोशित राप्रपाका कार्यकर्ताहरुले सेतु विक चोकमा रहेको सहिद सेतुको शालिक समेत तोडफोड गरेका छन् । प्रहरीले वीरेन्द्र चोक र सेतु विक चोकलाई घेरा हालेको छ । चोकहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले पहरा दिरहेका छन् । त्यस आसपासका पसलहरु बन्द गराइएको छ ।
आज राजा बिरेन्द्रको बंस नास भएको २१ बर्ष पूरा भएको दिन पारेर शालिक पुनःस्थापना गरिएको थियो । २०६२/६३ को जनआन्दोलनमा विरेन्द्र चोकमा रहेको स्व. राजा विरेन्द्रको शालिक भत्काइएको थियो ।