प्रदेश सरकारको कामको तथ्याङ्क नहेरी टिप्पणी नगरौ :  मुख्यमन्त्री कार्की

सदरलाइन संवाददाता २० भाद्र २०८१, बिहीबार १९:०१
 

विराटनगर  : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकार संघीय संरचनामा सबै भन्दा अब्बल प्रदेश सरकार रहेको दाबी गरेका छन् ।

विराटनगरमा आयोजित संघीय शासन प्रणाली सवलीकरण विषयक अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री कार्कीले सो दाबी गरेका हुन । उनले तथ्य नहेरी प्रदेश सरकारको काम छैन भन्ने जस्ता तथ्यहिन टिप्पणी हुने गरेको उल्लेख गर्दै त्यस्ता टिप्पणीलाई चुनौती दिदै सो कुरा बताएका हुन ।

उनले संघीयता आएपछि सबै भन्दा बढी विकास निर्माणमा प्रदेश सरकार अगाडि रहेको जिकिर गदै भने–‘विगत ३० वर्षमा हुन नसकेको काम संघीयता आएपछि भएको छ । तर प्रचार प्रसार गर्न नसक्दा हाम्रो बदनाम भएको छ, हामी माथि प्रहार भएको छ ।’

मुख्यमन्त्री कार्कीले ७ वर्षमै संघीयताको विषयमा खारेजीको धारणा बनाउन नहुने बताउदै केही अधिकारहरु प्रदेशलाई प्रत्यायोजन हुनै बाँकी रहेको अवस्थामा संघीयता चाहिन्छ कि चाहिन्न भनेर जाँच्ने बेला नभएको उल्लेख गरे ।


मुख्यमन्त्री कार्कीले संघीय सरकार भन्दा पनि स्तरीय बाटो, पुल लगायतका विकास प्रदेश सरकारले गरिरहेको दाबी गरे । तर तथ्य नहेरी प्रदेशको काम छैन भन्ने जस्ता सतही टिप्पणी हुने गरेको भन्दै प्रदेश सरंचनालाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताए ।

उनले यस्ता टिप्पणी गर्नु अघि महालेखा परीक्षकको प्रतिवेदन हेर्न आग्रह गरे । गएका ७ वर्षमा सबै भन्दा बढी सक्रिय भएर प्रदेश सरकारले नै विकास निर्माणको काम गरिरहेको भन्दै यसलाई महालेखा परीक्षकको प्रतिवेदनले पनि पुष्टि गर्ने बताए ।

कोशी प्रदेश सरकारको समन्वय एवम् फेडरलिजम् एण्ड लोकलाईजेसन सेन्टरको आयोजनामा भएको सो कार्यक्रममा राष्ट्रिय सभामा प्रमुख प्रतिपक्ष दलका प्रमुख सचेतक गोपी अछामी, पूर्वसंसदका पुर्व सांसद तथा आयोजक संस्थाका कार्यकारी निर्देशक प्रकाश पन्थले संघीयता सबलीकरणमा तीन वटै तहको महत्त्वपूर्ण भूमिका रहने धारणा राखेका थिए ।

सेन्टरका अध्यक्ष डा. खिमलाल देवकोटाले सातै प्रदेशका कार्यक्रम सकेर प्रतिवेदन संघीय तथा प्रदेश सरकार र दलका नेताहरूलाई बुझाउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनीमा लैंगिक समानताका लागि कानुनी आधार तयारः मुख्यमन्त्री आचार्य

२० भाद्र २०८१, बिहीबार १९:०१
दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लैङ्गिक समानताका लागि कानुनी आधार निर्माण गरेर कार्यान्वयनको चरणमा पुगेको बताएका छन् । हरितालिका तिजको शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले २०८० पुस ६ गते लुम्बिनी प्रदेश लैङ्गिक समानता नीति–२०८० स्वीकृत गरिसकेको जानकारी दिदै अब प्रदेश तहको विकास र शासनलाई लैङ्गिक उत्तरदायी […]