राप्तीसोनारी (बाँके) : बाँकेको राप्तीसोनारी गाउँपालिकाले पालिकाभित्र रहेका अपाङ्गता भएका बिरामीहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।
अपाङ्गता भएका बिरामीहरुका लागि नाक, कान, घाँटी, आँखा, फिजिसियन, फिजियोथेरापी लगायतका स्वास्थ्य सेवा प्रदान गर्नका लागि बिहीबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।
राप्तीसोनारी गाउँपालिकाको आयोजना तथा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर, भिजन आँखा अस्पताल नेपालगञ्ज र ब्रिनोज कान स्याहार केन्द्र नेपालगन्जको प्राविधिक सहयोगमा पालिकाभित्र रहेका अपाङ्गता भएका विरामीहरुका लागि ९ नं. वडाको महादेवपुरी स्वास्थ्य चौकी, ढकेरीमा निःशुल्क स्वास्थ्य शिविर राखिएको ९ नं. वडाका सचिव पङ्कज चौधरीले जानकारी दिए ।
बिहीबार सञ्चालन हुने शिविरमा आउनुहुने सम्पूर्ण अपाङ्गता भएका विरामीहरुका लागि निःशुल्क रुपमा स्वास्थ्य उपचारको सेवा प्रदान गरिने वडासचिव चौधरीले बताए ।
गाउँपालिकाले सम्बन्धित सरोकारवालासँगको समन्वयमा पालिकाका विभिन्न ठाउँमा विभिन्न प्रकारका रोगी बिरामीहरुका लागि निःशुल्क रुपमा स्वास्थ्य शिविरको आयोजना गरेर स्थानीय नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।