सदरलाइनडटकम,
नेपालगञ्ज : हिन्दू संस्कृति अनुसार साउन १५ लाई खीर खाने पर्वको रुपमा मनाइने गरिन्छ । यसको धार्मिक रुपमा पनि महत्व त छ, तर कृषि प्रधान देश भएकाले यसको महत्व अझ बढी छ ।
आजभन्दा एकमहिना पहिले अथार्त असार १५ मा दहीचिउरा खाने प्रचलन थियो । त्यसको एकमहिनापछि खीर खाने प्रचलन छ । यो नेपालमा पहिलेदेखि नै चल्दै आएको चलन भएको जानकारहरु बताउँछन् ।
हिन्नू समुदायका नेपालीहरुले आ–आफ्नो समाजिक सञ्जालमा खिर खाने दिनको रुपमा एक अर्कालाई शुभकामना व्यक्त गरेका छन । सांस्कृतिक विद्हरु असार १५ मा दही र साउन १५ मा दूध (खीर)को सम्बन्धलाई प्राकृतिक अवस्थाले पनि प्रभाव पारेको बताउँछन् । असार र साउन दुवै महिनामा हरियोपरियो बढी हुने हुनाले गाई भैँसीले बढी दूध दिने हुँदा दही र दूधका परिकारहरुको प्रचलन यी महिनामा बढी हुने गरेको उनीहरुको तर्क छ ।
रामायणका कथालाई आधार मान्दा दशरथका तीनै जना रानीले खीर खाएर गर्भाधारण गरेका थिए । यतिमात्र होइन हिन्दू धर्माबलम्बीका प्रायः हरेकजसो धार्मिक समारोहमा खीरको महत्व छ । त्यसैको फलस्वरुप झण्डै ९० प्रतिशत हिन्दूहरु भएको मुलुकमा खीरको महत्व ठूलो छ ।