बाँकेमा शितलहर बढेपछि वन कार्यालयद्वारा दाउरा वितरण

सदरलाइन संवाददाता ६ माघ २०८०, शनिबार १७:५६
 

नेपालगञ्ज : बाँकेमा पछिल्ला केही दिनदेखि शितलहरका कारण दिनानुदिन बढ्दै गएको चिसोबाट जोगिन दाउराको माग अत्यधिक बढेको छ । चिसोबाट स्थानीयलाई जोगाउन विभिन्न स्थानीय तह तथा विभिन्न संघसंस्थाहरुले दाउराको माग गरेको डिभिजन वन कार्यालयले जनाएको छ ।

डिभिजन वन कार्यालयअन्तर्गतको जिल्ला वन पैदावर आपूर्ति समिति बाँकेले विभिन्न स्थानीय तह (पालिका), वडा कार्यालयहरु तथा संघसंस्थाहरुले दाउराको माग गरेपनि हाललाई स्थानीय तह (पालिका) लाई प्राथमिकतामा राखेर केही स्थानीय तहहरुलाई सहुलियत दरमा दाउरा उपलव्ध गराइएको जनाएको छ ।

चिसो बढेपछि हालसम्म २१ चट्टा दाउरा उपलब्ध गराइएको आपूर्ति समितिले जनाएको छ । समितिका अनुसार हालसम्म नेपालगन्ज उपमहानगरपालिकालाई १२ चट्टा, कोहलपुर नगरपालिकालाई ३ चट्टा, जानकी गाउँपालिकालाई २ चट्टा, कारागार कार्यालयलाई २ चट्टा र वागेश्वरी मन्दिरलाई २ चट्टा दाउरा सरकारी दररेट (सहुलियत)मा उपलब्ध गराइएको छ ।

सहुलियत दररेटमा उपलब्ध भएका दाउराहरु स्थानीय पालिकाले भिडभाड तथा बढी आवतजावत हुने सार्वजनिक स्थानहरुमा सामूहिक रुपले आगो ताप्नका लागि व्यवस्थापन गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।


जिल्ला प्रशासन कार्यालयको समन्वयमा प्राप्त भएका दाउराहरुलाई स्थानीय तहहरुले विभिन्न चोकहरुमा (सार्वजनिक स्थान) सामूहिक आगो ताप्ने व्यवस्था गर्नुका साथै केही सिमान्त बस्तीहरुमा समेत स्थानीय सर्वसाधारणलाई शितलहर र चिसोबाट जोगाउन ब्ल्याङ्केटसमेत उपलब्ध गराइएको प्रजिअ पोखरेलले जानकारी दिए ।

बाँकेमा शितलहरका कारण बढेको चिसोबाट ज्येष्ठ नागरिक तथा बालबालिकाहरुमा बढी असर परेको प्रजिअ पोखरेलले बताए । शितलहरको बढ्दो प्रभावबाट बच्नका लागि आफूलाई न्यानो बनाउनु नै उत्तम रहेको भन्दै उनले नागरिकलाई चिसोबाट बचाउन स्थानीय तह बढी जिम्मेवारी भएर लाग्नुपर्ने बताए ।

‘‘केही स्थानीय तहहरुले दाउराको प्रवन्ध गरेर आफ्ना नागरिकलाई सामुहिक रुपमा आगो ताप्ने व्यवस्था गरेका छन् । यो सबै पालिकाले गर्नु जरुरी छ ।,” प्रजिअ पोखरेलले भने, “वन कार्यालयमार्फत सहुलियत दरमा दाउरा उपलब्ध हुने प्रबन्ध मिलाइएको छ, बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएका स्थानीय तहहरुले निकुञ्जमार्फत् निःशुल्क दाउरा उपलब्ध हुने व्यवस्था समेत मिलाइएको छ । त्यहाँका स्थानीय तहले निकुञ्जबाट निःशुल्क दाउरा प्राप्त गर्नेछन् ।” शितलहर र चिसोबाट सर्वसाधारण नागरिकलाई जोगाउने कार्यमा सबै मिलेर लाग्नुपर्ने प्रजिअ पोखरेलको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका बालबालिका विद्यालय छाड्ने अधिक

६ माघ २०८०, शनिबार १७:५६
नेपालगञ्ज : लुम्बिनी प्रदेशका बाँके र कपिलवस्तु जिल्लामा प्रदेशमै सबैभन्दा बढी बालबालिका विद्यालय बाहिर रहेको पाइएको छ । यसैगरी दुवै जिल्लामा विद्यालयमा रहेका बालबालिकाको विद्यालय छाड्ने जोखिम समेत बढी रहेको बताइएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सहयोगमा युनिसेफ र ग्लोबल एक्सन नेपालले […]