हुलाकी सडकले बाँकेका दुर्गम गाउँ सुगम बन्दै

सदरलाइन संवाददाता २५ मंसिर २०८०, सोमबार १३:५२
 

नेपालगञ्ज : बाँकेको राप्ती सोनारी गाउँपालिका–५ गोरदोई गाउँ निवासी ७१ वर्षीय तोमान वली घरै अगाडि फराकिलो हुलाकी पक्की सडक बनेपछि खुशी छन् ।

“घरै अगाडि यस्तो पक्की सडक बन्ला भन्ने सोचेको थिएनौँ, अहिले त हामीलाई जता जान पनि सजिलो भएको छ”, सडक नै नहुँदा बसेको बस्तीमा खेती किसानी गर्दै आएका वलीले भने, “हुलाकी सडक बनेपछि अब बजारमा किनमेल गर्न जान, बिरामी हुँदा अस्पताल जान धेरै सजिलो भएको छ, सडक बन्दा दुई कट्ठा जमिन खेर गयो तर अहिले सडकले जग्गाको भाउ पनि बढाएको छ ।”

राप्ती सोनारी गाउँपालिका–५ बिनौनास्थित भुवरभवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक चेतबहादुर बिष्ट नेपालगञ्जबाट दैनिक मोटरसाइकलमा विद्यालय जाने आउने गर्छन् । दुई वर्ष अघिसम्म बिनौना गाउँमै डेरा खोजेर बस्दै आएका बिष्ट फत्तेपुरदेखि नारायणपुर हुलाकी सडक पक्की बनेपछि अहिले नेपालगञ्जबाटै आवत जावत गर्न थालेका हुन् ।

सडक बनेपछि घरदेखि आधाघण्टामै पुगिने भएपछि अहिले घरबाटै आउन जान सम्भव भएको उनले बताए । “हुलाकी सडक बनेपछि सर्वसाधारण जनताको जीवनयापनमा ठूलो प्रभाव परेको छ, अब सहरमा काम गरेर साँझ घर फर्किन सक्ने स्थिति बनेको छ”, प्रधानाध्यापक विष्टले भने, “रोजगारीको लागि पनि नेपालगञ्ज गएर आउनसक्ने अवस्था भयो । यतै पनि रोजगारी खुलेका छन् ।”


नेपालगञ्ज–बघौडा ४४ किलोमिटर र फत्तेपुर–नारायणपुर २१ किलोमिटर हुलाकी सडकले स्थानीयको जीवनमा परिवर्तन ल्याएको छ । बिनौना र बैजापुर चोक अहिले बजारको रुपमा विकसित हुँदै गएका छन् । पहिला फाट्टफुट्ट झुप्रोमा पसल हुने बिनौनामा अहिले ठूला पसल, होटल र मेडिकल खुलेपछि स्थानीय खुसी छन् । राप्ती सोनारी ४ बैजापुरका अगुवा तुलसी थारुका अनुसार हुलाकी सडक बैजापुर र बिनौनावासीको लागि वरदानै सावित भएको छ ।

हुलाकी सडक बनेपछि अब गाउँको उत्पादन सहज तरिकाले आधा घण्टामै नेपालगञ्ज पुगेर बिक्रीवितरण गर्नसक्ने अवस्था सिर्जना भएको र मौसम अनुसारको तरकारी उत्पादन गरेर बजार पु¥याउँदा किसानको आम्दानीको स्तर बढेको उनको भनाइ छ ।

बाँके जिल्लाका ग्रामीण क्षेत्र हुलाकी सडक निर्माणसँगै अहिले सुगम बन्दै गएका छन् । हुलाकी सडक निर्माणले राप्ती सोनारीको बैजापुर देखि नरैनापुरको सुइया बघौडालाई सदरमुकाम नेपालगञ्जसँग सीधा सम्पर्क गराएको छ । विगतमा दुर्गम क्षेत्रका रुपमा मानिने नरैनापुरबाट अहिले आधा घण्टामै नेपालगञ्ज पुग्ने गरिएको नरैनापुरका स्थानीय अगुवा सोहनलाल यादवले बताए । “पहिले भारतको बाटो हुँदै नेपालगञ्ज पुग्नुपथ्र्यो, अहिले आधाघण्टामै पुगिन्छ”, यादवले भने, “हुलाकी सडक नरैनापुरबासीको लागि ‘लाइफलाइन’ बन्न पुगेको छ ।”

नेपालगञ्जदेखि नरैनापुरको सुइया बघौडासम्म हुलाकी सडक पुगेपछि स्वास्थ्य र शिक्षामा पनि उल्लेख्य प्रगति भइरहेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद साहले बताए । उनले नेपालगञ्ज–बघौडा ४४ किलोमिटर हुलाकी सडकको निर्माण र कोहलपुर–धामपुर–सुईया बघौडा विद्युतीकरणको काम पूरा भएपछि नरैनापुरवासीको मुहार उज्यालो हुँदै गएको उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लैगिकहिसा बिरुद्धको १६ दिने अभियानमा बाँकेका बिभिन्न कार्यालयमा ‘गल्स टेकओभर’ कार्यक्रम

२५ मंसिर २०८०, सोमबार १३:५२
नेपालगञ्ज : लैगिक हिसा बिरुद्धको १६ दिने अभियानको अवसर पारेर किशोरी सशक्तिकरणका लागि बाँकेमा मानव बेचविखनबिरुद्धको परियोजना प्रोटेक्ट बाँकेका ५ जना किशोरीहरुले एकदिनको लागि गल्स टेकओभर अन्तरगत विभिन्न कार्यालयको जिम्मेवारी लिएका छन् । प्लान ईन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लवको आयोजनामा किशोरी सशक्तिकरण कार्यक्रम अन्तरगत अवशर पाएमा किशोरी पनि सक्षम […]