नेपालगञ्ज : नेपाल सरकारका भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले लोकतान्त्रिक गणतन्त्रलाई मन नपराउने तत्वहरु सल्बलाउँदै गएको बताएका छन् ।
नेपालगञ्जमा नेपाल मुस्लिम इत्तेहाद संगठनको केन्द्रीय सचिवालय उद्घटन गर्दै मन्त्री अधिकारीले मौकाको फाइदा लिने कोशिसमा रहेका लोकतन्त्र विरोधी तत्वलाई खबरदारी गर्दै सरकारले अघि सारेका योजना सफल बनाउनुपर्नेमा जोड दिए ।


आगामी बैशाख २० र २१ गते नेपालगञ्जमा हुने नेपाल मुस्लिम इत्तेहाद संगठनको राष्ट्रिय महाधिवेशनको तयारीका लागी केन्द्रीय सचिवालयको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले यस्ता छद्मभेषीलाई कमजोर बनाउन लोकतन्त्र पक्षधर सबै भावनात्मक रूपमा एक हुनुपर्ने बताएका हुन् ।
महाधिवेशनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएकाले त्यही समयमा बाँकेमा रहेका केही भूमिहिन, दलित, सुकुम्बासीका लागि जग्गा वितरण गर्ने तयारी र लुम्बिनी प्राविधिक विश्व विद्यालयको भौतिक संरचना बनाउने जग्गा समेत प्रधानमन्त्रीले उद्घाटन गरिने तयारी भैरहेको जानकारी दिए ।
उनले नेकपा एमालेका तर्फबाट सहभागी भएका मन्त्रीले जनताका लागि आशा लाग्दा कार्य गरेको जिकिर गरे । बाँकेमा हुन गइरहेको नेपाल मुस्लिम इत्तेहाद संगठनको राष्ट्रिय महाधिवेशनले नेकपा एमाले पार्टीको आन्तरिक जीवनलाई व्यवस्थित गर्ने र पार्टीसंग जोडिएका देशैभरका मुस्लिम समुदायलाई सम्पर्क समन्वयमा जोड्ने एमाले केन्द्रीय सदस्य मो हरुणले बताए ।