दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सिंचाइमा उत्पन्न भएको पानीको संकट समाधानका लागि वैकल्पिक उपायहरू अभ्यासमा ल्याउन सकिने बताएका छन् ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय लुम्बिनी प्रदेशले सिंचाइ दिवस २०८१ को अवसरमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पोखरी निर्माण गरी वर्षाको पानी संकलन गरेर सिंचाइ तथा खानेपानी दुवैमा उपयोग गर्न सकिने योजना अघि बढाउँदा पानीको समस्या समाधान गर्न सकिने उल्लेख गरे ।
‘बाझो जमिनमा सिंचाइ पु¥याउन सकिन्छ भने यसबाट पर्यटक समेत भित्र्याउन सकिन्छ । तराई तथा पहाडमा पानीको जलाशय निर्माण गरेर पानीको समस्या समाधान गर्न सकिन्छ । वर्षाको पानी संकलन गरेर त्यसलाई हिउँदमा सिंचाइमा प्रयोग गर्न सकिन्छ’–उनले भने ।
मुख्यमन्त्री आचार्यले पानीका स्रोतको संरक्षण र मितव्ययी प्रयोगमा ध्यान दिनुपर्ने उल्लेख गर्दै जमिन मुनि र सतह दुबै तहको पानीको स्रोत क्रमशः घट्दै गएकाले सिंचाइ आयोजनासमेत रुङ्गन अवस्थामा पुगेकोप्रति चिन्ता व्यक्त गरे ।


उनले भने–‘ती सिंचाइका आयोजनाहरू संघीय सरकारले प्रदेशलाई हस्तान्तरण गर्न सकेको छैन । यसले गर्दा किसानहरूले सजिलै सिंचाइ गर्न पाउनु भएको छैन । प्रदेश सरकारले यस समस्यालाई गम्भीर रूपमा लिएको छ ।’
उनले समन्वय र सहकार्यका माध्यमबाट सिंचाइ समस्याको समाधान खोजिने र संघीय सरकारले सञ्चालन गरेको भूमिगत पानी सिंचाइ योजनाहरू प्रभावकारी नबन्दा समस्या झन जटिल बनेको बताए । साथै, निराश नहुन आग्रह गर्दै स्वदेशमै कच्चा पदार्थ उत्पादनको थालनी गर्नुपर्ने धारणा राखे ।
मुख्यमन्त्री आचार्यले बाहिरबाट मकै आयात भइरहेको उल्लेख गर्दै प्रदेशभित्रै वर्षको तीन सिजन मकै खेती भइरहेको अवस्थामा ऊर्जा र कृषि मन्त्रालयबीच समन्वय आवश्यक रहेकोमा जोड दिए ।
सिंचाइ दिवसको कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री सीता शर्मा चौधरीको अध्यक्षता रहेको थियो । कार्यक्रममा प्रमुख सचिव बाबुराम अधिकारी, प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्याल, उपभोक्ता तिलक न्यौपाने लगायतले सम्बोधन गरेका थिए ।
मन्त्रालयका सचिव बिष्णु भण्डारीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा महाशाखा प्रमुख महेश पोख्रेलले प्रदेशमा सिंचाईको वर्तमान अवस्था र चुनौतीको बारेमा प्रस्तुती राख्नु भएको थियो ।