नेपालगन्ज भन्सारद्वारा लक्ष्यभन्दा बढी राजस्व संकलन

४ श्रावण २०७३, मंगलवार १४:१६
 

Sddd

सदरलाइनडटकम
४ साउन, नेपालगन्ज : नेपालगन्ज भन्सार कार्यालयले आर्थिक बर्ष २०७२/०७३ मा ५ अर्व ६५ करोड ६६ लाख १ हजार अर्थात १०५.७९ प्रतिशत राजस्व संकलन गरेको छ । यो लक्ष्यभन्दा ६६ करोड बढि हो । सरकारले भन्सार कार्यालयलाई ४ अर्व ९९ करोड ६३लाख १ हजार राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो । नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र हमालले सरकारले दिएको लक्ष्यभन्दा ५.७९ प्रतिशत बढि राजस्व संकलन गर्न सफल भएको बताए ।
नेपालगन्ज भन्सार कार्यालयले पेट्रोलियम पदार्थ आयातबाट १ अर्व ४० करोड ४९ लाख २४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । आव २०७१/०७२ मा १ अर्व ४७ करोड ५० लाख ८४ हजार राजस्व पेट्रोलियम पदार्थ आयातबाट संकलन भएको प्रमुख भन्सार अधिकृत हमालले बताए ।  आव २०७२/०७३ मा संविधान जारीपछि भएको सीमा क्षेत्र अवरोध  र भारतले गरेको नाकाबन्दीका कारण पेट्रोलियम पदार्थ आयाततर्फ राजस्व कम उठेको उनले बताए ।
आव २०७२/०७३ मा नेपालगन्ज भन्सारले डिजल आयातबाट ७४ करोड ७६ लाख ४१ हजार, पेट्रोलबाट ४० करोड ९६ लाख १६ हजार, खाना पकाउने एलपी ग्याँसबाट १९ करोड २५ लाख २९ हजार र हवाई इन्धन (एटिएफ) आयातबाट ५ करोड ५१ लाख ३८ हजार राजस्व संकलन गरेको छ ।    आव २०७१÷०७२ मा डिजल आयातबाट ८१ करोड ३६ लाख ५५ हजार, पेट्रोलबाट ३४ करोड ८७ लाख ७९ हजार, खाना पकाउने एलपी ग्याँसबाट २७ करोड ७२ लाख ७३ हजार र हवाई इन्धन (एटिएफ) आयातबाट ३ करोड ५३ लाख ७७ हजार राजस्व संकलन भएको भन्सार अधिकृत एवम् सूचना अधिकारी लक्ष्मीदत्त जोशीले जानकारी दिए ।
नेपालगन्ज भन्सार कार्यालयले आव २०७१/०७२ को तुलनामा आव २०७२÷०७३ ४ करोड ७४ लाख १६ हजार रुपैयाँ कम राजस्व संकलन गरेको छ । आव २०७१/०७२ मा सिमेन्ट आयातबाट ३४ करोड ३५ लाख ७३ हजार रुपैयाँ राजस्व उठेकोमा आव २०७२÷०७३ मा सिमेन्ट आयातबाट २९ करोड ६१ लाख ५७ हजार रुपैयाँ मात्र संकलन भएको छ । आव २०७२/०७३ मा सिमेन्ट बनाउन प्रयोग गरिने कच्चा पदार्थ क्लिङ्करबाट १९ करोड ५९ लाख ६८ हजार रुपैयाँ राजस्व संकलन भएको छ । भने, आव २०७१/०७२ मा ६ करोड ९० लाख २३ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।
मध्य र सुदूरपश्चिमका साथ आव २०७२/०७३ मा काठमाडौँ र पश्चिमाञ्चलमा समेतनेपालगन्ज नाका भएर सिमेन्टमा प्रयोग गरिने कच्चा पदार्थ क्लिङ्कर गएको बताउँदै हमालले मधेस आन्दोलन हुनुभन्दा अघि भैरहवा, वीरगन्ज र बिराटनगर नाकाबाट समेत क्लिङ्कर भित्रिने गरेको बताए ।
नेपालगन्ज भन्सार कार्यालयले आर्थिक बर्ष २०७२/०७३ मा चिनी र मोटरसाइकल आयातबाट पनि राजस्व संकलन गरेको छ । मधेसी दलले भन्सार ठप्प पार्दै नाकामा आन्दोलन गरेपछि भैरहवा र वीरगन्ज नाका ठप्प भएका कारण आव २०७२/०७३ मा नेपालगन्ज नाकाबाट मोटरसाइकल र चिनी आयात भएको हो ।
गत आवमा नेपालगन्ज भन्सार कार्यालयले चिनी आयातबाट ३१ करोड २८ लाख ३२ हजार राजस्व संकलन गरेको छ । भने, मोटरसाइकल आयातबाट १८ करोड ३५ लाख २२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । मधेस आन्दोलनका कारण गत आवमा नेपालगन्ज नाकाबाट चिसो पेयपदार्थ कोका–कोला र स्प्राइट पनि भारतबाट नेपाल आयात भएको छ । कोका–कोला र स्प्राइट आयातबाट नेपालगन्ज भन्सार कार्यालयले ७ करोड ३९ लाख रुपैयाँ राजस्व उठेको भन्सार कार्यालयले जनाएको छ ।
आव २०७१/०७२ को तुलनामा चामलको आयात पनि दोब्बरभन्दा बढिले बढेको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ । आव २०७१/०७२ मा चामल आयातबाट ८ करोड १५ लाख ९० हजार रुपैयाँ संकलन भएकोमा आव २०७२/०७३ मा १९ करोड १५ लाख ९९ हजार राजस्व उठेको छ । गत बर्ष खडेरी भई उत्पादनमा कमी आएका कारण भारतबाट चामलको आयात बढि भएको भन्सार अधिकृत लक्ष्मीदत्त जोशीले बताए ।
नेपालगन्ज भन्सार कार्यालयका अनुसार आव २०७२/०७३ मा इट्टा भट्ठामा प्रयोग गरिने कोईला आयातबाट १५ करोड ३४ लाख २७ हजार र तामाको कपर स्क्रिप्ट आयातबाट ८ करोड ९१ लाख २४ हजार रुपैयाँ राजस्व संकलन भएको छ । आव २०७१/०७२ मा तोरीको तेल आयातबाट राम्रो राजस्व संकलन भएपनि आव २०७२/०७३ मा न्यून भएको भन्सार कार्यालयले जनाएको छ । आव २०७१/०७२ मा तोरीको तेल आयातबाट ९ करोड ९६ लाख ६१ हजार रुपैयाँ संकलन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगन्ज उप–महानगरपालिले ३४ प्रतिशत अयबृद्धि गरे पनि लक्ष पुरा गर्न सकेन

४ श्रावण २०७३, मंगलवार १४:१६
सदरलाइनडटकम, ५ साउन, नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिले अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष ०७२/०७३ आन्तरिक आयमा ३४.४४ प्रतिशत वृद्धि गरेको छ । यद्यपी उप–महानगरपालिकाले गत आर्थिक वर्षको लागि प्रक्षपण गरेको लक्षको भने ७० प्रतिशत मात्र उठाउन सकेको छ । गतवर्ष ५ करोड ३० लाख आयवृिद्ध भएकोमा यसपाली ७ करोड ९६ […]