नसर्ने रोगले डरलाग्दो रुप लिइरहेको छ : डा. राणा

सदरलाइन संवाददाता १२ मंसिर २०८०, मंगलवार १५:३४
 

नेपालगञ्ज : नेपाली काँग्रेसकी नेतृ डा. आरजु राणा देउवाले नसर्ने रोगले डरलाग्दो रुप लिइरहेको बताएकी छन् । अस्वस्थ जीवनशैली र खानपानका कारण नसर्ने रोगको शिकार हुनुपर्ने अवस्था आएको उनको भनाई छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले मंगलबार आयोजना गरेको ‘नसर्ने रोगहरुको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना’ अन्तरगत ‘स्वस्थ शहर अभियानका लागि कार्यशाला गोष्ठी’ लाई सम्बोधन गर्दै सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालकी अध्यक्ष समेत रहेकी डा. राणाले उमेर बढ्दै जादाँ आफ्नो स्वास्थ्यको उचित ख्याल गर्नुपर्ने बताइन् ।

प्रतिनिधि सभाको ‘कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति’ सभापति डा. राणाले नसर्ने रोग रोकथामका लागि मुलुकका अधिकांस स्थानीय तहमा अभियानका साथ अगाडी बढाउनुपर्ने बताइन् । ‘नसर्ने रोगले डरलाग्दो रुप लिइरहेको छ, यो सबै अस्वस्थ जीवन शैली र खानपानका कारणले गर्दा भएको हो,’ उनले भनिन् । नयाँ पुस्तालाई पनि यसबारेमा जागरुक बनाउनुपर्ने डा. राणाको भनाई छ ।

नसर्ने रोगविरुद्ध सरकारले देशब्यापी रुपमा जनचेतनामूलक कार्यक्रम गर्न जरुरी रहेको उनको जोड छ । ‘सरकारले नसर्ने रोगलाई कम गर्दै लैजानुपर्छ, क्यान्सर रोगका बिरामीका लागि मात्रै राष्ट्रिय ढुकुटीबाट धेरै रकम खर्च हुन्छ,’ काँग्रेस केन्द्रीय सदस्य डा. राणाले भनिन् ।


नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले सर्ने भन्दा नसर्ने रोगका बिरामी धेरै रहेको बताए । संविधानले नै मानिसको स्वास्थ्य अधिकारलाई सुनिश्चित गरेको भन्दै नेपालगन्ज उपमहानगरपालिकामा नसर्ने रोगका बिरामीहरु सिफारिसका लागि दिनहुँ आउने गरेको सुनाए ।

‘नसर्ने रोगका बिरामी मैले कल्पना नगरेका आउँछन्, उनले भने । नसर्ने रोग रोकथाम गर्न नसके राज्यले थेग्न नसक्ने अवस्था आउन सक्ने मेयर विष्टले बताए ।

सो क्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. दिनेश चौधरी, उपमहानगरपालिका स्वास्थ्य महाशाखका प्रमुख रामबहादुर चन्द लगायतले आफ्नो धारणा राखेका थिए । स्वास्थ्य कार्यालय बाँकेका नरेश श्रेष्ठले प्रस्तुतीकरण गरेको उक्त कार्यक्रम सञ्चालन उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जागेश्वर बस्नेतले गरेका थिए ।

कार्यक्रममा उपमहानगरपालिकाका उपमेयर कमरुद्धिन राई, भेरी अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्र शाह, कान्ति आरोग्य अस्पतालका प्रमुख एवम् वरिष्ठ बालरोग विशेषज्ञ डा. रोमा बोरा, प्लाष्टिक सर्जन एवम् क्लिन नेपालगन्ज ग्रिन नेपालगन्जका अभियन्ता डा. बिनोद कर्ण, अन्य चिकित्सक, उपमहानगरपालिकाका कर्मचारी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

इप्रका मैनापोखरका सइ घुससहित पक्राउ

१२ मंसिर २०८०, मंगलवार १५:३४
नेपालगञ्ज : बर्दिया मैनापोखर इलाका प्रहरी कार्यालयका सइ पवन साउद अख्तियारको फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको शाखा कार्यालय नेपालगञ्जको टोलीले मंगलवार दिउँसो साढे एक बजे इप्रकाका मुद्दाफाँटका सई साउदलाई पक्राउ गरेको हो । लागु औषध प्रयोगकर्तासँग सेटिङ मिलाइदिने भन्दै सइ साउदले ४० हजार घुस मागेका थिए । […]