सदरलाइनडटकम,
खजुरा (बाँके) : खजुरा गाउँपालिकाको आयोजनामा यही कार्तिक ६ र ७ गते हुने बृहत खजुरा सम्मेलनको तयारी तीव्र रुपमा अगाडि बढाइएको छ । शिक्षा विज्ञ भक्तबहादुर केसीको संयोजकत्वमा बनेको वहृत खजुरा विकास सम्मेलन व्यवस्थापन समितिले ज्ञानोदय नमूना माविमा हुने सम्मेलनलाई भब्य र सभ्यरुपमा सञ्चालन गर्न आफ्ना तयारी अगाडि बढाएको जनाएको छ । प्रदेश नं. ५ का मूख्यमन्त्री शंकर पोख्रेलले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम तय भएको संयोजक केसीले बताए ।
खजुरा समृद्धिका आधार, अवसर र सम्भाव्यतालाई पहिल्याउँदै खजुरा गाउँपालिकाको नीतिगत प्राथमिकता तय गर्न सहज वातावरण बनाउन, सहभागितामुलक, लोकतान्त्रिक तथा समावेशी आर्थिक विकास गर्न खजुरा गाउँपालिकाको योजना निर्माणका लागि मार्गरेखा तय गर्न, दीगो र समतामुलक विकासको आयम र प्रवद्र्धनका अभ्यास यसको प्रभावबारे सिकाई आदानप्रदान गर्न र खजुरा क्षेत्रका विषय विज्ञ, प्राज्ञिक सामाजिक तथा आर्थिक विकासमा अभ्यासरत व्यक्तित्वहरुबाट पृष्ठपोषण ग्रहण गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको व्यवस्थापन समितिका सचिव किरण ढकालले जानकारी दिए ।
सम्मेलन तयारी समितिका सदस्य पूर्णचन्द्र उपाध्यायका अनुसार २ दिनसम्म संचालन हुने सम्मेलनमा खजुराको आर्थिक विकास, विकासमा जनसहभागिता, योजनावद्ध खजुरा शहर, लैंगिक र महिला सशक्तिकरणमा खजुराका आगामी कार्यभार, खजुरामा कृषिः समृद्ध खजुराको आधार, गुणस्तरीय र प्राविधिक शिक्षाको मार्गरेखा, गुणस्तरीय स्वास्थ्य सेवा र खजुरा, समावेशी खजुरा, खेलकुद र सिर्जनशील खजुरा विषयमा कार्यपत्र प्रस्तुत त्यसमाथि टिप्पणी हुनेछ । अर्का सदस्य इन्द्रबहादुर थापाका अनुसार हरेक कार्यपत्रको अध्यक्षता छुटाछुटै हुने, कार्यपत्रमाथि विशेष छलफलसहित कार्यपत्र पारित गरिने छ ।
खजुरामा पहिलो पटक हुने लागेको सम्मेलनमा खजुरा गाउँपालिकाका जनप्रतिनिधि, खजुरा क्षेत्रबाट संघीय तथा प्रदेशमा प्रतिनिधित्व गर्ने सदस्य, विषय विज्ञ, प्राज्ञ तथा विभिन्न पेशामा लागेका पेशाकर्मीहरुको समेत सहभागितामा सम्मेलन हुने र विकासमा सबै खजुरेलीको साझेदार बनाउने प्रक्रियालाई अगाडि बढाउन मद्दत पुग्ने विश्वास लिइएको खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए ।