नेपालगञ्ज नाकाबाट बैदेशिक ब्यापार बढ्न सकेन

सदरलाइन संवाददाता ५ मंसिर २०८०, मंगलवार १३:०८
 

नेपालगञ्ज : पश्चिम नेपालको प्रमुख भन्सार नाका नेपालगञ्जबाट हुने बैदेशिक व्यापार बढ्न सकेको छैन । यहाँबाट भारत सहित तेस्रो मुलुकमा निर्यात बृद्धि गर्ने प्रशस्त सम्भावनाको अध्ययन कतैबाट हुन सकेको छैन ।

आर्थिक वर्ष २०८०/८१ को साउनदेखि असोजसम्म नेपालगञ्ज भन्सार नाका हुँदै २१ देशसंग रु १७ अर्व ९३ करोड १३ लाख ८३ हजारको बैदेशिक व्यापार भएको छ । उक्त अवधिमा रु १७ अर्व ४८ करोड ९५ लाख ८७ हजार बराबरको बिभिन्न सामग्री आयात भएको थियो भने रु ४४ करोड १७ लाख ९६ हजारको मात्रै निर्यात भएको छ ।

यहाँबाट हुने बैदेशिक ब्यापारको अधिंकास हिस्सा भारतले ओगटेको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख ध्रुब बिकले बताए । पछिल्लो तीन महिनामा भारतबाट मात्रै रु १५ अर्व २९ करोड ७८ लाख ८४ हजारको सामाग्री आयात भएको छ जुन कुल आयातको ९३.१९ प्रतिशत हो ।

त्यस्तै नेपालगञ्ज नाका हुँदै रु ४३ करोड ६५ लाख ८८ हजार अर्थात कुल निर्यातको ९८.८२ प्रतिशत हिस्सा भारतले नै ओगटेको छ । दोस्रो धेरै निर्यात हुने देशको सूचीमा रहेको युनाइटेड अरव इमिरेट्समा ०.७६ प्रतिशत र म्यानमारमा ०.४१ प्रतिशत सामाग्री निर्यात भएको छ ।

नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख बिकका अनुसार, यो नाका हुँदै भारत, बेलायत, मलेसिया, म्यानमार, चाइना, भियतनाम, बेल्जियम, इटली, दक्षिण अफ्रिका, टर्की, थाइल्याण्ड, ताइवान, दुबई, साउदी अरेबिया, सिंगापुर सहित २१ देशबाट सामान आयात भएको छ । यि मध्ये भारत युनाइटेड अरव इमिरेट्स र म्यानमारसंग मात्रै निर्यात ब्यापार हुने गरेको भंसार तथ्यांकले देखाउँछन् ।


नेपालगञ्ज नाका हुँदै भारत लगायतका देशबाट इन्धन, खाद्यन, मेशनरीसहित पचास प्रकारका सामाग्री आयात हुने गरेको छ भने यहाँबाट जडिबुटी, प्लाईउड सहित सत्र प्रकारका सामाग्री निर्यात हुँदै आएको भंसारले जानकारी दिएको छ । भारत बाहेक तेस्रो मुलुक म्यानमार, युनाइटेड अरब इमिरेट्समा समेत जडिबुटी नै निकासी हुने गरेको पाइएको छ । केएल दुगड जस्ता खाद्य उत्पादकहरुले बिगतमा
अष्ेट्रलिया पिठो निर्यात गर्ने गरे पनि त्यो नियमति हुन सकेको छैन । बंगलादेशमा चामल निर्यात हुने गरेको ब्यवसायीहरु बताउँछन् ।

‘अहिले निर्यात ब्यापारको अधिकांस हिस्सा जडिबुटीले नै ओगटेको छ । यसको सहज निर्यातका लागि पनि सरकारका तर्फबाट अपेक्षाकृत सहयोग पाइएको छैन ।’– नेपाल जडिबुटी ब्यवसायी संघका अध्यक्ष टंक शर्मा भन्छन्,–‘नेपालगञ्ज नाका हुँदै निर्यातको माहोल बनाउन लाग्नुपर्छ ।’

अध्यक्ष शर्माको भनाईमा भंसारको पूर्वाधारको स्तरोन्नतीले पनि बैदेशिक ब्यापारमा अर्थ राख्छ । ‘नेपालगञ्ज भन्सारसंग सटेको रुपईडिहास्थित भारतीय कस्टमको कुन तह र सुविधाको छ भन्ने कुराले पनि हाम्रो निर्यात ब्यापारमा प्रभाव पार्छ । अझ भारतको समुन्दी बन्दरगाहाको पहुँचको त बिशेष अर्थ हुने नै भयो । हामीलाई त्यसको अभाव खट्किएको छ ।’– शर्माले भने । भारतीय समुन्द्री बन्दरगाह नजिक पर्ने भएका कारण पूर्वका भैरहवा, बिरगञ्ज, बिराटनगर भन्सारबाट ठूलो परिमाणमा निर्यात ब्यापार हुने गरेको छ । जसका कारण त्यहाँ भारतीय कस्टम समेत थप सुविधा सहितको प्रभावकारी रहेको व्यवसायीहरु बताउँछन् ।

नेपालगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओली उत्पादन सामाग्रीको बृद्धि र भंसारको स्तरोन्नतीले निर्यात ब्यापारमा प्रभाव पार्ने कुरामा सहमत छन् । नेपालगन्जमा निर्माण भएको एकिकृत भंसार जाँच चौकी चाँडै संचालन गर्न सके निर्यात ब्यापारमा देखा परेका झण्झट समाधान हुने आशा पलाएको बताउँदै ओली भन्छन्,–‘यो चाँडै सञ्चालन हुने अपेक्षा गरेका छौं, हाम्रो ध्यान त्यसैमा केन्द्रीत छ ।’

पछिल्लो पटक नेपालगञ्ज नाकाबाटै प्लाईउड ठूलो मात्रामा निर्यात भएको बताउँदै ओलीले निर्यात हुने सामाग्रीको पहिचान गरी त्यसको उत्पादनमा समेत लाग्नुपर्नेमा जोड दिन्छन् । भन्छन्,–‘अन्य देशमा कुन कुराको माग छ र त्यसकोयहाँ उत्पादनको सम्भावना छ की छैन भनेर अध्ययन गर्नुपर्छ । त्यस्ता उद्योग खोल्न चाहाना राख्नेलाई सरकारले प्रोत्साहन गर्न सके मात्र बैदेशिक ब्यापारको खाडल पुर्न सकिन्छ ।’ नेपालगञ्जबाट बैदेशिक ब्यापार बृद्धि गर्ने तर्फ नीजि तथा सरकारी निकायले अध्ययन गर्नुपर्ने व्यवसायीहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भैलोको रकमबाट बाल केन्द्रलाई खाद्यान्न सहयोग

५ मंसिर २०८०, मंगलवार १३:०८
राप्तीसोनारी (बाँके) : बाँकेको राप्तिसोनारी गाउँपालिका वडा नं ५ विनौना स्थित जय बागेश्वरी असहाय बाल संरक्षण केन्द्रलाई चिल्ड्रेन प्याराडाइज इ मी स्कुलका शिक्षक र विद्यार्थीहरुले भैलो खेलेको रकमबाट आश्रमलाइ खाद्यान्न सहयोग गरेको छ । विद्यालयले १ बोरा चामल, १० किलो दाल, १० किलो आलु, ५ लिटर तेल, १० पोका नुन […]

सम्बन्धित