‘आफ्नो फोहोर आफ्नै डस्टविन’ अभियान प्रभावकारी

सदरलाइन संवाददाता ३० कार्तिक २०८०, बिहीबार १३:५६
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकालाई सफा र स्वच्छ राख्न होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ बाँकेले सञ्चालन गरेको ‘आफ्नो फोहोर आफ्नै डस्टविन’ अभियान प्रभावकारी देखिएको छ ।

सरसफाइमा हरेक नागरिकलाई सहभागी गराएर नगरलाई सफा राख्ने उद्देश्यले केही समयअघि सञ्चालन गरिएको ‘आफ्नो फोहोर आफ्नै डस्टविन’ अभियानले उपमहानगरको सरसफाइमा सुधार आएको बाँके होटल तथा रेष्टुरेन्ट व्यवसायी संघले जनाएको छ ।

बाँके होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष गोपालप्रसाद गिरिले उपमहानगरले एक्लै नगरको सरसफाइ गर्न नसक्ने तथा सो कार्यमा हरेक नागरिकको पनि सहयोग र समर्थन आवश्यक परेको देखेर सुरु गरिएको ‘आफ्नो फोहोर आफ्नै डस्टविन’ अभियान सफाइका लागि प्रभावकारी देखिएको बताए ।

उनले सो अभियान अन्तर्गत नगरको टोली टोलमा पुगेर, पसलमा तथा कलकारखाना र घरहरुमा समेत डस्टविन वितरण गर्दै फोहोर डस्टविनमै राखिदिन आग्रह गरिएकोमा अधिकांशले सोही प्रकार गरेको बताए ।


अध्यक्ष गिरिले नगरका अधिकांश पसल, होटल, संघ संस्था, कलकारखाना र घरहरुमा डस्टविन वितरण गरेपछि फोहोर डस्टविनमा राख्ने चेतना बढ्दै गएको बताए ।

यसअघि नेपालगञ्ज उपमहानगरले पनि फोहोर व्यवस्थापनमा कडाइ गर्दै फोहोर जथाभावी फाल्नेलाई कारवाही गर्ने चेतावनी दिएको थियो । अधिकांश नगरवासीले आफ्नो फोहोरलाई जथाभावी फाल्ने गरेकैकारण फोहोर व्यवस्थापनमा समस्या आउनेगरेको र नगरलाई सफा र स्वच्छ राख्न समस्या हुनेगरेको उपमहानगरपालिकाले जनाएको थियो ।

नेपालगञ्ज उपमहानगरको वातावरण तथा सरसफाइ शाखाका अनुसार नगरमा सबैभन्दा बढी बजेट खर्च गरेर सरसफाइको काम भइरहेको छ । नगरपालिकाले सफाइ गरेर गएपछि जथाभावी ढंगले सडकमा फोहोर फाल्ने गरिएकाले समस्या ज्युँकात्यूँ रहने गरेको थियो ।

नेपालगञ्ज उपमहानगरपालिकाको सरसफाई शाखाका प्रमुख प्रकाश डिसिले नगरलाई फोहोरमुक्त र सफा सहर बनाउने काममा ‘आफ्नो फोहोर आफ्नै डस्टविन’ अभियानले सहयोग गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

धारिलो हतियार प्रहारबाट युवक घाइते

३० कार्तिक २०८०, बिहीबार १३:५६
नेपालगञ्ज : बाँकेको कोहलपुरमा धारिलो हतियार प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । कोहलपुरस्थित चप्परगौडीका २८ वर्षीय मीनबहादुर विक घाइते भएका हुन् । विकलाई बिहीवार बिहान अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । उनलाई घर नजिकै पछाडिबाट अज्ञात व्यक्तिले […]

सम्बन्धित