२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

भेरी अस्पताललाई आवश्यक परे सेनाले चिकित्सक सहयोग गर्ने



नेपालगञ्ज : सैनिक अस्पताल, नेपालगञ्जका कमाण्डन महासेनानी डा. इन्दु केसीको टोलीले भेरी अस्पतालमा उपचाररत भूकम्पका घाइतेको अवस्था बुझेको छ ।

सैनिक अस्पतालले घाइतेको अवस्था बुझ्ने र अस्पताल प्रशासनलाई आवश्यक परेमा चिकित्सक परिचालन गर्ने तयारी गरेको छ । त्यसका लागि महासेनानी डा. केसीको टोलीले भेरीमा पुगेर अस्पताल प्रशासकसँग छलफल गरेको छ ।

जाजरकोट र पश्चिम–रुकुममा गएको भूकम्पका घाइतेको उपचारका लागि डेडिकेटेड भेरी अस्पतालमा अहिले ३८ जनाको उपचार भइरहेको छ ।

एक जना गर्भवतीको पेटमै बच्चाको मृत्यु भएको छ । सबैजसो खतरामुक्त रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

भेरीमा ल्याइएका एक जनाको बाटोमै मृत्यु भएको थियो । एक जना घाइतेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । उसलाई पनि भेरीमा ल्याउने तयारी गरिएको छ ।

भेरी अस्पतालमा नेपालगञ्ज उपमहानगरपालिका र राप्तीसोनारी गाउँपालिकाले स्वास्थ्यकर्मी पठाएका छन् । नेपालगञ्जले दश जना र राप्तीसोनारीले ५ जना नर्सिङ र प्यारामेडिक्सको टोली भेरीमा पठाएको छ ।

अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) पवनजंग रायमाझीले अस्पतालमा चिकित्सकको कमी भएकाले पहल गरिरहेको बताए । उनले त्यसका लागि नेपाली सेना र पालिकाहरुसँग कुरा गरिरहेको जानकारी दिए ।

‘हामीलाई केही पालिकाले नर्सिङ र प्यारामेडिक्स पठाइदिनु भएको छ । चिकित्सकको आवश्यकता परेको छ । त्यसका लागि पहल गरिरहेका छौं, मेसु रायमाझीले भने ।

नेपाली सेनाको बज्रदल गणका गणपति प्रमुख सेनानी रविन श्रेष्ठले भेरी अस्पताल प्रशासनले माग गरेमा केही दिनका लागि सैनिक अस्पतालबाट चिकित्सक पठाइने बताए ।

प्रकाशित मिति : २०८० कात्तिक १९ गते आइतबार
ताजा समाचार