चाडपर्वका बेला पनि नेपालगञ्ज सुनसान

सदरलाइन संवाददाता २९ आश्विन २०८०, सोमबार १३:२६
 

नेपालगञ्ज : उपचारका लागि नेपालगञ्ज आएकी दंगीशरण गाउँपालिका १ की सीता बस्नेत किनमेल गर्न सिधै रुपईडिहा पुगिन् । रुपईडिहामा सामान सस्तो मूल्यमा पाइने सुनेकी उनी नेपालगञ्जको दर भाउ नबुझेर सिधै उता गएकी हुन् ।

उनीसँगै आएका थप तीन जना पनि रुपईडिहा पुगेर सामान किने । दसैँको सामान किन्न जाने उनीहरु जस्तै दैनिक सयौँ नेपाली रुपैडिहा पुग्छन् र त दसैँका बेला समेत नेपालगञ्ज सुनसान छ ।

घटस्थापनासँगै हिन्दू धर्मावलम्वीको घरमा दसैँ भित्रिएको सँगै दसैँको चहलपहल बढेको छ । दसैँ मनाउन देश, विदेशबाट नेपाली घर फर्किने क्रम जारी जारी छ । किनमेल गर्ने र घर सिगार्ने चटारो छ यतिबेला । तर, दसैँले नेपालगञ्ज बजारलाई छुन सकेको छैन । नेपालीहरु किनमेलका लागि सिधै भारतीय बजार रुपईडिहा गएपछि नेपालगञ्ज सुनसान भएको हो ।

नेपालीका कारण नेपालगञ्जको सीमावर्ती भारतीय रुपईडिहा बजार मौलाउँदो छ । नेपाली ग्राहकले धानेको रुपईडिहा बजारका ब्यापारी मालामाल छन् यतिबेला । हामी नेपालीहरु जानीनजानी विदेशीलाई आफ्नो देसको पैँसा लुटाइरहेका छौँ । अर्काको देसका वासिन्दालाई सित्तैमा लुट्न पाउँदा भारतीय ब्यापारीहरु दिनदिनै मोटाउँदै गएका छन् ।

नेपालगञ्ज, कोहलपुर, खजुरा र राँझा आसपासका सर्वसाधारण आफ्नो घर छेउको बजार छाडेर रुपईडिहा बजार हुइँकिदा दैनिक करोड रुपैँया विदेशिने गरेको छ । नेपालको रुपैँया भारत पलायन हुँदा नेपालमा आर्थिक मन्दी बढाउन मलजल भइरहेको छ ।


आर्थिक मन्दीका कारण किनमेल गर्नेको संख्या घटेका बेला थोरै सस्तो पाउने नाममा रुपैडिहा गएर किनमेल गर्ने परिपाटीले नेपालगञ्जको ब्यापार ब्यवसाय ठप्प भएको नेपालगञ्ज न्यूरोडस्थित फैन्सी पसल सञ्चालक हेमा शाहले बताइन् । उनले अघिल्लो वर्षको दसैँ भन्दा यस वर्ष ब्यापार घटेको बताइन् । ‘दसैँ आए पनि ग्राहकको चहलपहल छैन । सवै ग्राहक भारतीय सीमावर्ती बजार रुपईडिहा जाँदा नेपालगञ्ज सुनसान छ ।’

फैन्सी लुगामात्र नभई दैनिक प्रयोग हुने घरायसी सामानको विक्री पनि घटेको छ । सामान मात्र किन्नेहरुको संख्या घटेको त्रिभुवन चोक पूर्वलाइनमा किराना पसल गर्दै आएका पंकज गुप्ताले बताए । उनले किनमेल गर्न आउनेको संख्या दोब्बरले घटेको बताए । ‘खै किन हो हिजोआज किनमेल गर्नेको संख्या ह्वात्तै घटेको छ । घर भाडा र मजदुरलाई पारिश्रमिक दिन धौ–धौ छ,’ उनले भने, ‘भारतीय बजार जाने प्रबृत्ती नहट्दासम्म नेपालगञ्जको ब्यापार सप्रेला भन्ने आशा छैन ।’

नेपालगञ्जमात्र नभई बाँकेका अन्य शहरमा पनि ब्यापार घटेको छ । किनमेलका लागि भारतीय बजार जाने गरेका कारण दैनिक लाखौँ रुपैँया भारत पलायन भएको नेपालगन्ज उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष चिरन्जीवी ओली बताउँछन् ।

उनले नेपाली रुपैँया रोक्न नसके देसमा आर्थिक मन्दी थप बढ्ने जिकिर गरे । ‘आफ्नो देसको बजारमा सामान किनमेल गरेको भए नेपालको पैँसा नेपालमै राकिने थियो ।

आफ्नो देसको पसलमा सामान किन्ने हो भने आफ्नै देसका नागरिकले काम पाउने थिए नै देसलाई आर्थिक मन्दीबाट जोगाउन मद्दत गर्ने थियो,’ उनले भने, तर दैनिक करोड रुपैँया विदशीलाई सुम्पिएर हामीले आफ्नो देसलाई आफै गरिव बनाइरहेका छौँ । आर्थिक मन्दी ल्याउनेमा हामी सवै दोषी छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मोटरसाइकलको ठक्करबाट बर्दियामा एकजनाको मृत्यु

२९ आश्विन २०८०, सोमबार १३:२६
बर्दिया : बर्दियामा मोटसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । शक्तिपुरबाट गणेशपुरतर्फ आइरहेको मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । आइतबार राति करिब ७ बजे बर्दियाको गुलरिया नगरपालिका ११ का ६० वर्षीय इस्माइल खाँ सडक पार गर्दा मोटरसाइकलले ठक्कर दिएको थियो । घाइते भएका खाँलाई उपचारका लागि बाँकेको नेपालगञ्जस्थित शिक्षण […]