सदरलाइनडटकम,
नेपालगञ्ज : जर्मन सरकारको उच्चस्तरीय टोलीले बुधवार नेपालगञ्ज उपमहानगरपालिकाका पदाधिकारीसँग भेटघाट गरेको छ । जर्मन सरकारको सङ्घीय मामिला तथा आर्थिक विकास मन्त्रालयका प्रमुख निर्देशक गिसेला हम्मरस्कमिटको नेतृत्वमा रहेको टोलीले नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर र प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलसँग उपमहानगरपालिकाले सञ्चालन गरिरहेका विभिन्न कार्यक्रममा बारेमा जानकारी लिएको छ ।
टोलीले नेपालगञ्जमा थप कार्यक्रम संचालनका लागि सकारात्मक भएको जनाएको छ । टोली प्रमुख हम्मरस्कमिटले नेपालगञ्जलाई जर्मन सरकारले प्राथमिकता दिएको बताउँदै नयाँ क्षेत्रमा समेत सहयोग गर्न सकिने बताए । जर्मन टोलीलाई स्वागत गर्दै मेयर राणाले नेपालगञ्ज शिक्षा, स्वास्थ्य र आर्थिक विकासको क्षेत्रमा हब भएको भन्दै जर्मन सरकारबाट थप सहयोगको अपेक्षा राखिएको बताए ।
उपप्रमुख मगरले जर्मन सरकारले प्रविधिलगायतको क्षेत्रमा गरेको सहयोगले नेपालगञ्जलाई महत्व दिएको भन्दै मुलुककै उत्कृष्ट नगर बनाउने अभियानमा थप सहयोगको आशा राखिएको विश्वास व्यक्त गरे । प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले नेपालगञ्जलाई आगामी ५ वर्षभित्र मुलुककै उत्कृष्ट नगर बनाउने लक्ष्य राखिएको भन्दै लक्षित वर्गका लागि नेपालगञ्जले गरेका कार्यहरु जर्मन टोलीलाई अवगत गराए ।