२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

भेरी अस्पतालमा १४ वर्ष पूरा भएका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउन सुरु



नेपालगञ्ज :  भेरी अस्पताल नेपालगञ्जमा बुधबारदेखि २०६५ भदौ ३० गतेदेखि २०६६ भदौ ३० गतेभित्र १४ वर्ष पूरा भएका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउन सुरु गरिएको छ । अस्पतालबाट तीन दिनसम्म खोपको पहिलो मात्रा दिइने भेरी अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्रबहादुर शाहले जानकारी दिए ।

देशका सात प्रदेशका सात वटा संघीय अस्पतालबाट पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिने कार्ययोजना बमोजिम भेरी अस्पतालमा पनि खोप लगाउन लगाउन सुरु गरिएको उनले बताए । पहिलो चरणमा भेरी अस्पतालबाट १ हजार २ सय १५ जना १४ वर्ष उमेर पुरा भएका किशोरीलाई खोप लगाइने कार्यक्रम रहेको छ । त्यसका लागि भेरीमा २ हजार ४ सय ३० भाइल खोप आएको उनले बताए ।

१० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई लक्षित गरी एचपिभी. खोप दिने योजना भएपनि पर्याप्त खोप नभएका कारण १४ वर्ष पूरा भई १५ वर्ष ननाघेका किशोरीलाई मात्र खोप लगाउन थालिएको उनको भनाइ छ । २०६५ भदौ ३० गतेदेखि २०६६ भदौ ३० गतेभित्र १४ वर्ष पूरा भएका किशोरीलाई खोप लगाइनेछ ।

एचपिभी. खोप ६ महिनाको अन्तरालमा दुई मात्रा लगाउनुपर्दछ । यो खोपको दुई मात्रा पूरा गरेमा यसको प्रभावकारिता ९५ प्रतिशत देखिएको बताइएको छ । नेपालमा खोपको उपलब्धता र साझेदार निकायको सहयोगमा एचपिभी.खोपलाई विस्तार गर्दै १० देखि १४ वर्षसम्मका सबै किशोरीलाई समेत खोप लगाउने गरी निकट भविष्यमा राष्ट्रिय स्तरको नियमित खोप कार्यक्रममा समावेश गरी नियमित खोप चल्ने स्वास्थ्य संस्थाबाट उपलब्ध गराइने छ । खोप लगाउन जाँदा उमेर खुल्ने आधिकारिक प्रमाण लिएर जानुपर्नेछ ।

नेपालमा सबैभन्दा बढी हुने क्यान्सरमा पाठेघरको मुखको क्यान्सर पर्दछ । पछिल्लो तथ्यांक अनुसार नेपालमा प्रति एक लाखमा नयाँ विरामी पत्ता लाग्ने दर १६.४ प्रतिशत छ । पहिलो दिनमा ४६ जना किशोरीेले सो खोप लागएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

पाठेघरको मुखको क्यान्सर मुख्यतः संक्रमित व्यक्तिसंगको यौन सम्पर्कबाट सर्दछ । यसको संक्रमण पुरुषमा पनि हुन्छ र पुरुषबाट महिलामा सर्दछ ।

प्रकाशित मिति : २०८० भदौ २७ गते बुधबार
ताजा समाचार