खोरमै पुगेर बाघले खान्छ बाख्रा

सदरलाइन संवाददाता १५ भाद्र २०८०, शुक्रबार १४:१९
 

नेपालगञ्ज : बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र दाङ जिल्लाको बबई गाउँपालिका क्षेत्रमा पटक पटक बाघले गोठमै आएर बाख्रा मार्ने गरेको छ । पछिल्लो पटक मंगलबार बाघले बबई गाउँपालिका–२, जहरेबास ट्वाङखोलामा १३ वटा बाख्रा मारेको छ । बबई गाउँपालिका वडा नं. २, जहरेबास ट्वाङखोलाका छविलाल खत्रीका १३ वटा बाख्रा जङ्गलमा चराउन गएको समयमा बाघले मारेको हो ।

खत्रीले भदौ १२ गते स्थानीय सुवाखोरे सामुदायिक वन क्षेत्रमा चरनका लागि लगेका थिए । बबई गाउँपालिका–२ का पूर्ववडाध्यक्ष चिन्तामणि शर्माले बाघले मारेका १३ वटा बाख्रामध्ये नौ वटा मरेको अवस्थामा फेला परेको र बाँकी चार वटा फेला नपरेको बताए ।

बबई गाउँपालिका–५, बबरपुरमा डेढ वर्षअघि मेनका खत्रीका पाँच वटा बाख्रा बाघले गोठमा बाँधेको अवस्थामा मारेको थियो । त्यस्तै बबरपुरकै देवबहादुर वलीका १० वटा बाख्रा खोरभित्रै बाघले मारिदिएको थियो ।


छविलाल खत्रीले दुई वर्षदेखि टीकादेवी बाख्रा फर्म दर्ता गरेर बाख्रापालन गर्दै आएका छन् । एकै पटक १३ वटा बाख्रा बाघले मारिदिँदा तीन लाखभन्दा बढी घाटा भएको खत्रीले बताए । गोठकै बाख्रा बाघले मारिदिँदा क्षतिपूर्तिका लागि निकुञ्ज डिभिजन वन कार्यालयमा निवेदन दिँदासमेत क्षतिको राहत प्राप्त नगरेको किसान देवबहादुर वलीले बताए ।

बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्रीले निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने वडामा बाघले बाख्रा मारेको अवस्थामा क्षतिपूर्तिको व्यवस्थाका लागि पालिकाबाट समन्वय भइरहेको बताए । उनले सामुदायिक वन क्षेत्रमा पहिलो पटक बाघले बाख्रा मारेको हुँदा क्षतिपूर्तिका लागि डिभिजन वन कार्यालयसँग समन्वयन भइरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बहराइनविरुद्ध नेपाल १० विकेटले विजयी

१५ भाद्र २०८०, शुक्रबार १४:१९
काठमाण्डौ : नेपाली महिला राष्ट्रिय टिमले विमेन्स ट्ववान्टी–२० विश्वकप छनोटको शुक्रबार भएको खेलमा बहराइनलाई १० विकेटले पराजित गरेको छ । मलेसियामा शुक्रबार भएको खेलमा बहराइनले प्रस्तुत गरेको ३२ रनको लक्ष्य पाएको नेपाल १७ बलमै त्यहाँसम्म पुगेको थियो । कविता कुँवरले १४ बलमा १७ रन बनाइन् र तीन चौका प्रहार गरिन् […]