कम मूल्यंकन देखाएर भन्सार पास गराएको खुलासा

सदरलाइन संवाददाता २४ मंसिर २०८०, आईतवार १७:३४
 

नेपालगञ्ज : नेपालगञ्ज भन्सार कार्यालयबाट न्यून मूल्याङ्कन देखाएर भन्सार जाँचपास गराई राजस्व छलेर ठुलो परिमाणमा व्यापारिक माल सामान भित्रिने गरेको खुलासा भएको छ ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण हेडक्वार्टर बागेश्वरी बाँकेबाट खटिएको टोलीले भारतबाट आएको एक कन्टेरलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा न्यून मूल्याङ्कनमा भन्सार जाँचपास भएका माल सामान फेला परेपछि सो खुलासा भएको हो ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण हेडक्वार्टर बागेश्वरी बाँकेका प्रमुख एसपी रमेशविक्रम शाहीका अनुसार भन्सार कार्यालय पार गरेर भारतबाट नेपालगन्जतर्फ आइरहेको एनएल ०१ एएफ १७२६ नम्बरको भारतीय कन्टेनर चेकजाँच गर्ने क्रममा बिल र बिजक शङ्कास्पद देखिएकोले नियन्त्रणमा लिएर भौतिक परीक्षण गर्दा न्यून मूल्याङ्कनमा भन्सार जाँचपास गरिएका माल सामान फेला परेको थियो ।


एसपी शाहीले कन्टेनर र भारतको उत्तर प्रदेश जिल्ला फिरोजावाद बस्ने ४२ वर्षीय चालक जयपाल सिंहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा बुझाएको थियो । सो कार्यालयले अनुसन्धान र भौतिक परीक्षण गरेर न्यून मूल्याङ्कनमा भन्सार जाँचपास भएका माल सामानको पाँच लाख २१ हजार ४८४ रुपियाँ जरिवाना तोकेको बताए ।

कम मूल्याङ्कन देखाएर राजस्व छल्ने कार्यमा भन्सार कार्यालयका कर्मचारीको पनि मिलेमतो हुनसक्ने आशङ्का प्रहरीले गरेको छ । दैनिक सयौँको सङ्ख्यामा कन्टेनर र ठुला ट्रकहरू भारतबाट मालसामान बोकेर नेपालगञ्ज नाकाबाट भित्रिने गरेकोमा कतिले कम मूल्याङ्कन देखाएर भन्सार जाँच पास गराउँछन् । कतिले वास्तविक मूल्याङ्कनमा भन्सार जाँचपास गराउँछन् भन्ने बारेमा गहिरिएर अनुसन्धान आवश्यक रहेको सर्वसाधारणको माग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्तीसोनारीद्वारा प्राविधिक कर्मचारी माग

२४ मंसिर २०८०, आईतवार १७:३४
नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिकाले आँखाका लागि प्राविधिक कर्मचारी माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै करारमा प्राविधिक र अन्य कर्मचारी माग गरेको जनाएको छ । पालिकाले मंसिर २२ गते सूचना जारी गर्दै आबश्यक कागजातसहित कार्यालयमा बुझाउन अनुरोध गरेको छ । पालिकाले जारी गरेको सूचना अनुसार यसरी आबश्यक […]