डेङ्गु रोकथाम अभियानलाई प्रभावकारी बनाउन सुझाव

सदरलाइन संवाददाता ६ भाद्र २०८०, बुधबार १६:३९
 

धनगढी : कैलालीमा डेङ्गुका बिरामी बढ्दै गएकाले रोकथामको अभियानलाई अझ प्रभावकारी बनाउन जरुरी रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयले आज आयोजना गरेको डेङ्गु रोगको रोकथाम तथा नियन्त्रणस्म्बन्धी संचारकर्मीसहित सरोकारवालासँगको अन्तरक्रियामा अभियानलाई प्रभावकारी बनाउनु पर्ने बताइएको हो ।

डेङ्गु नियन्त्रणका लागि लार्भा खोजी र नष्ट अभियानलाई जेठबाटै सञ्चालन गरिए पनि केस बढ्दै जानूले अभियान अझै अपुग रहेको पुष्टि भएकोे जनस्वास्थ्य निरीक्षक विमला ज्ञावालीले बताइन् । “अभियानलाई अझै प्रभावकारी बनाउन जरुरी रहेको छ” उनले भनिन् ।


जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार यो वर्षको साउन मसान्तसम्म कैलालीमा डेङ्गुका बिरामीको संख्या १३५ पुगेको छ । डेङ्गुको सङ्क्रमण बढ्दोक्रममा देखिएको जिल्ला स्वास्थ्य कार्यालयका सरुवा रोग स्रोतव्यक्ति मीनबहादुर धामीले बताए । उनका अनुसार गत वर्ष ४५५ जनामा डेङ्गु सङ्क्रमण भएको थियो । जसमध्ये तीन जनाको ज्यान गएको छ । यसअघि, आर्थिक वर्ष २०७६–७७ मा ४१, २०७७–७८ मा १०१ र २०७८–७९ मा १९८ जनामा डेङ्गु पुष्टि भएको थियो ।

एडिस प्रजातिको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु रोग लाग्ने गरेको छ । यो प्रजातिको लामखुट्टेले दिउँसोमा मात्रै मानिसलाई टोक्ने गर्छ । भाइरसबाट लाग्ने डेङ्गु रोग रोकथामको एकमात्र भरपर्दो उपाय डेङ्गु सार्ने लामखुट्टेको लार्भा खोज र नष्ट अभियान रहेको जनाइएको छ । यसका साथै, घर वरिपरि पानी जम्न नदिनुका साथै बट्टा, गमला, टायर, प्लाष्टिकको डब्बा, ड्रमलगायतमा जमेको पानी बेला–बेला फाल्न आवश्यक रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।

डेङ्गुबाट जोगिनका लागि लामखुट्टेको वृत्तिविकास रोक्न आवश्यक रहेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख तेजविक्रम शाहीले बताए । उनले महामारी बहुआयामिक समस्या रहेकाले डेङ्गुको महामारी रोक्न सबै आफ्नो ठाउँबाट लाग्न आवश्यक रहेको बताए । डेङ्गुबाट जोगिनका लागि वर्षायाममा असोज महिनासम्म सतर्क रहन जरुरी रहेको उनको सुझाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नरैनापुरमा प्रस्तावित क्याम्पस स्थापनाका लागि अन्तरक्रिया

६ भाद्र २०८०, बुधबार १६:३९
नेपालगञ्ज :  बाँकेको नरैनापुर गाउँपालिकाका विद्यार्थीलाई आफ्नै पालिका भित्रै उच्च शिक्षा दिने उदेश्यले सन्तानेश्वर बहुमुखी क्याम्पस स्थापना गरिने तयारी भएको छ । प्रस्तावित क्याम्पस स्थापना तयारी समितिले यसको संभाव्यताका बारेमा नेपालगञ्जमा सन्तानेश्वर बहुमुखी क्याम्पस नरैनापुरको स्थापना र सञ्चालनका चाुनौतीहरुका विषयमा शिक्षाका क्षेत्रमा क्रियाशिल रहेका विभिन्न व्यक्तिहरुसंग अन्तरक्रिया गरिएको प्रस्तावित क्याम्पस […]