कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिका १५ स्थित राष्ट्रिय आधारभुत विद्यालय चन्नहवाको चार कोठे पक्की भवन बन्न भएको छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्याक्रमअन्तर्गत चालु आर्थिक वर्षमा करिब ४५ लाख लागतमा चार कोठे पक्की भवन बन्ने भएको हो ।
उक्त भवनका लागि भूमिपुजन गरिएको छ । विहान पौने ९ बजे उत्तम साइतमा कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य, वडाध्यक्ष दिपेन्द्रकुमार चौधरीलगयातले भूमिपुजन गरेको विद्यालयका प्रधानाध्यापक भोजेन्द्र वलीले जानकारी दिए ।
१ सय ११ विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा भवनको अभाव छ । एउटा जीर्ण र जस्तापाताले छाएको भवनमा विद्यार्थीहरु जोखिम मोलेर अध्ययन गर्न बाध्य छन् । सुविधा सम्पन्न ४ कोठे भवन निर्माण हुने भएपछि विद्यार्थीको पठनपाठनमा सहजता ल्याउने प्रअ वलीको भनाई छ ।
नगर प्रमु्ख आचार्यले कोहलपुर नगरपालिकालाई शैक्षिक हबका रुपमा विकास गर्ने गरी आफुहरु लागि परेको बताए । उनले कोहलपुरका सामुदायिक विद्यालयको भौतिक संरचना सुधारदेखि जनशक्ति व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर नगरपालिकाले काम गरिरहेको बताए ।